

१. विषय प्रवेश
भगवान् विष्णुका दश अवतार मानिन्छन् । भगवान् विष्णुलाई ब्रह्माण्डको प्रतिपालक मानिएको छ । विष्णुका विभिन्न अवतारहरुको प्रसंग हिन्दू धर्मग्रन्थहरु तथा पुराणहरुमा पाइन्छ । सम्पूर्ण सनातन धर्मावलम्बीहरुले यो विश्वास गर्दछन् कि भगवान् विष्णुका मुख्य दश अवतार रहेका छन् । ती अवतारहरु हुन् – मत्स्य अवतार, कूर्म अवतार, वराह अवतार, नृसिंह अवतार, वामन अवतार, श्रीराम अवतार, श्रीकृष्ण अवतार, परशुराम अवतार, बुद्ध अवतार र कल्कि अवतार ।
यी अवतारहरुमध्ये कल्कि अवतार हुन बाँकी छ । हिन्दू मान्यताअनुसार समयलाई चार युगमा विभाजन गरिएको छ । सत्ययुग, त्रेता, द्वापर र कलियुग । अनि कलियुगपछि पुनः सत्ययुगको आगमन हुन्छ । यही कलियुगबाट सत्ययुगको संक्रमणको समयमा भगवान् विष्णुको कल्कि अवतार हुने विश्वास रहेको छ । भगवान् विष्णुका विभिन्न अवतारलाई जीवविज्ञानको दृष्टिकोणले पनि विश्लेषण गरिएको पाइन्छ । जसरी विकासवादी सिद्धान्तले मानेको छ कि सबैभन्दा पहिले जीवको उत्पत्ति पानीमा भएको थियो त्यसरी भगवान्को अवतारको कथाको क्रम पनि यसै गरी देखिन्छ ।
सबैभन्दा पहिले मत्स्यावतार, त्यसपछि क्रमशः मानव हुँदै सुपर मानवतिर विकासको यात्रा देखिन्छ । अनि धर्मशास्त्रहरुले यो पनि मान्दै आएको छ कि भगवान्को अवतारको मुख्य कुनै विशेष उद्देश्य हुन्छ । कुनै विशिष्ट उद्देश्य लिएर भगवान्को अवतार हुने भएकोले हरेक अवतारको उद्देश्यबारे बुझ्नु पर्दछ । यद्यपि अध्यात्मवादीहरु यसलाई दुई किसिमले बुझाउन चाहन्छन् । पहिलो त बाहिर वा सतहमा देखिने अवतारको प्रयोजन र दोस्रो अध्यात्मको दृष्टिले विचार गर्नुपर्ने उद्देश्य । भगवान् रामको अवतार पनि खास उद्देश्य लिएर भएको थियो । यहाँ यस आलेखमा त्रेता युगमा अध्योत्याका राजा दशरथको ज्येष्ठ पुत्रको रुपमा भएको भगवान् रामको जन्मको सन्दर्भ र अवतारको उद्देश्यबारे प्रकाश पार्ने प्रयास गरिएको छ ।
२. प्रकट भएको परिवेश
भगवान् रामको जन्म भएको भन्दा पनि अध्यात्मवादीहरुले अवतार भएको मान्दछन् । सामान्य तर्क छ – मनुष्यको जन्म हुन्छ र भगवान्को अवतार हुन्छ । देवताहरुको पनि अवतार नै हुन्छ । यसरी भगवान् रामको पनि अवतार भएको हो । एउटा श्लोक ज्यादै प्रचलित छ ः ‘भए प्रकट कृपाला दिन दयाला कौसल्या हितकारी । हर्षित महतारी मुनि मनहारी अद्भुत रुप निहारी ।’ यसमा पनि भगवान् रामको अवतार भएको भनिएको छ । अझ भगवान् रामको जन्म नभएर उनी प्रकट भएको उक्त श्लोकमा बताइएको छ ।
भनिन्छ, अयोध्यामा रामको जन्म भएको हो दशरथको घरमा । दशरथ अयोध्याका राजा थिए । राजाका तिन रानी थिए कौसल्या, सुमित्रा र कैकेयी । रामको जन्म जेठी महारानी कौसल्याको कोखबाट भएको थियो ।
त्रेतायुगमा, शास्त्रहरुका अनुसार, इमानदार मानिसहरुमाथि अन्याय बढिइसकेको थियो । अझ साधु, महात्माहरुमाथि धेरै अन्याय हुन थालेको थियो । खराब तत्वहरुको हालीमुहालीमा समाज चल्न थालेको थियो । कुबेरजस्तो इमानदार धनी व्यक्ति पहाडमा पलायन हुनुपरेको थियो । यस्ता धेरै उदाहरुणहरु पाइन्छन् जसबाट अन्याय गर्नेहरु नै आफूलाई सर्वेसर्वा ठान्न थालेको थिए भन्ने उल्लेख पाइन्छ । भनिन्छ, जब जब पृथ्वीमा अन्याय र अत्याचार बढ्छ र धर्ममाथि आक्रमण हुन्छ तब तब धर्मको स्थापना गर्न भगवान् विष्णुको अवतार हुन्छ । रावण र उसको निकटकाहरुको अत्याचारले पृथ्वी आक्रान्त भइसकेको थियो, त्राहीमामको अवस्था थियो । यसैले सोही परिवेशमा भगवान रामको जन्म भएको हो । भनिन्छ, जहाँ शुभ कर्म हुन्छ त्यहाँ सबै कुरो आफैँ पवित्र हुन्छ । भगवान्ले पृथ्वीको भार कम गर्न अर्थात् अन्याय, अत्याचार, दुराचारलाई दमन गर्नको लागि शुभ समयमा अवतार लिने गरेको शास्त्रहरुमा उल्लेख पाइन्छ ।
३. अवतारको अवसर
तुलसीकृत रामायण ‘रामचरित मानस’ को ‘बालकाण्ड’मा भगवान् रामको अवतार भएको भनिएको छ । रामको जन्मको समयको योग, लग्न, ग्रह, वार, तिथि आदि सबै अनुकूल थिए र सम्पूर्ण चराचर जगत् आनन्दमग्न भएका थिए किनभने श्रीरामचन्द्रको जन्म सुखको मूल हो ।
नौमी थिथि मधु मास पुनीता ।
सुकल पच्छ अभिजित हरिप्रीता ।
मध्यदिवस अति सीत न घामा ।
पावन काल लोक बिश्रामा ।
रामको जन्म नवमी तिथि र पवित्र चैत महिनाको शुक्ल पक्षमा भएको हो । अभिजित् नक्षत्रमा मध्यान्हको समयमा भगवान्को अवतार भएको हो । त्यत्ति वेला न धेरै जाडो थियो र न त धेरै गर्मी अर्थात् घाम नै । यस्तो लागिरहेको थियो कि जसमा सम्पूर्ण लोकलाई विश्राम प्राप्त भएको छ । तुलसीकृत रामायणका अनुसार, त्यस समय शीतल, मन्द, सुगन्ध, त्रिविध हावा चल्न थाल्यो । देवता र सन्तहरुको मन निकै प्रसन्न भयो । वन फूलले ढकमक्क तथा प्रफुल्लित र पर्वत रत्नमय हुन गयो तथा सम्पूर्ण नदीहरुमा अमृतधारा बग्न थाल्यो । ब्रह्माजी उक्त अवतारलाई जानेर सबै देउताहरुसहित विमानलाई सजाएर प्रभुतिर हिँडे । निर्मल आकाशमा देवताहरुको भीड हुन गयो । गन्धर्वहरुले प्रभुको यशगान गर्न थाले । देवताहरुले अंजली भरेर पुष्प बर्साउन थाले । आकाशमा नगाडा जोरले बज्न थाल्यो । नाग, मुनि, देवता आदिले स्तुति गर्न थाले र विभिन्न प्रकारले आफ्नो सेवा प्रस्तुत गर्न थाले ।
तुलसीकृत रामायणमा भगवान् रामको अवतार भएको बेला तिनको रुपको बारेमा पनि वर्णन गरिएको छ । जब राम प्रकट भए तब उनको अद्भुत रुप देखेर माता कौसल्या दंग भइन् । सुन्दर नेत्र, श्याम शरीर, चार हात, सबै हातमा शंख, चक्र, गदा र पद्म धारण गरेका, वनमाला पहिरेका, सम्पूर्ण अंगमा आभूषण सजिएको, निकै विशाल नेत्र भएका, सौन्दर्यको सागर तथा खर नामक राक्षसको वैरी । रामको शोभा देखेर मुनिहरुको मन पनि मोहित हुन्छ ।
४. लोकविश्वास
भ्गवान् रामको लोकप्रियता हाम्रो समाजमा धेरै नै रहेको छ । सिद्धान्तले के भन्दछ भने जसको लोकप्रियता धेरै रहन्छ, तिनको बारेमा मानिसले धेरैभन्दा धेरै कुराकानी गर्न रुचाउँछन् । तिनको बारेमा अनेक मिथकहरु समाजमा प्रचलनमा रहेका हुन्छन् । तिनको बारेमा सकारात्मक कुरा वा लीलाहरु धेरै नै प्रचलनमा रहेका हुन्छन् । सर्वसाधारण मानिसहरु जति धेरै कुरा गरे पनि त्यत्ति नै धेरै रुचाउँछन् । तिनको प्रशंसामा आफू मग्न हुन्छन् । हो, भगवान् रामको विषयमा पनि समाजमा यही लागू हुन्छ ।
रामलाई केवल दशरथको पुत्रको रुपमा, अयोध्याका राजकुमार वा राजाको रुपमा मात्र सर्वसाधारणले समाजमा लिएको बुझेको पाइन्न । धेरैलाई यो विश्वास छ कि राम परम प्रभु हुन् । मुक्तिदाता हुन् । मनुष्यका उद्धारकर्ता हुन् । यही कारण वर्तमान समाजले रामको विपक्षमा कुनै कुरा सुन्न चाहँदैन र जति धेरै प्रशंसा हुन्छ त्यत्ति धेरै सन्तुष्टि प्राप्त गर्दछ । रामलाई लौकिक रुपमा मान्ने पनि छन् र अलौकिक रुपमा मान्ने पनि छन् । रामको दुवै रुपलाई समाजले सहज स्वीकार गर्दछ । रामले आफ्नो जीवनमा जे जति गरेका छन्, तिनका संघर्षहरुलाई पनि समाजले लीलाको संज्ञा दिएको छ । रामले गरेको कर्म चाहिँ लीला नै हो भन्ने मान्यता रहेको छ । लोकविश्वास यत्तिसम्म भन्दछ कि रामले आफ्नो जीवनमा कुनै पनि गल्ती गरेका छैनन् । उनको जीवनको बारेमा जे जति बुझिएको छ, ती सबैलाई सहज किसिमले अझ राम्रोको लागि गरिएको हो भन्ने स्वीकार गरेको छ समाजले । रामलाई अलौकिक र दिव्यपुरुष यस कारण पनि मानेको देखिन्छ कि राम सर्वशक्तिमान हुन्, भगवान् विष्णुका अवतार हुन् र मानिसको रुपमा लीला गर्नका लागि अवतार लिएका हुन् भन्ने लोकविश्वास रहेको छ ।
५. अवतारको उद्देश्य
लौकिक र अलौकिक गरी रामका दुई रुप मानिन्छ । अलौकिक स्वरुपलाई मान्नेहरु मूलतः अद्वैतवादी हुन् । भगवान्माथि विश्वास गर्ने तर कुनै भौतिक स्वरुप अर्थात् देह वा रुपमाथि विश्वास नगर्नेहरुले रामको अलौकिक स्वरुपलाई मान्दछन् । यस स्वरुपलाई मान्नेहरुले राम अनेक भएको वा अनेक रुपमा रहेको भनिएकाहरुलाई केवल एक राम मान्दछन् । जसका मातापिता कोही हुन सक्दैनन् भन्ने मान्यता रहेको यस मतावलम्बीहरुले त्रेयागुगका वा दाशरथी रामलाई नमाने पनि केवल राम शब्द वा राम ब्रह्मको अस्तित्वलाई भने स्वीकार गर्दछन् । रामको लौकिक स्वरुपलाई स्वीकार गर्नेहरुले रामको अवतारको उद्देश्यबारे चर्चा गर्दछन् । उसो त हिन्दू धर्मशास्त्रहरुले कुनै पनि जीवनको धर्म, अर्थ, काम र मोक्ष गरी चार उद्देश्य रहेको मान्दछन् ।
त्यसो त विभिन्न लोकविश्वास, मिथक तथा धारणाहरु, जुन समाजमा व्याप्त छन्, मा भगवान् श्रीरामको अवतार हुने पहिले नै भविष्यवाणी गरिएको हुन्छ । जस्तो कि रामावतार भएपछि ढुंगा बनेकी ऋषिपत्नी अहल्याको उद्धार हुनेछ । यसै गरी सबरी कैयौँ दशकदेखि राम आउने बाटो कुरेर बसेकी हुन्छिन् । कैयौँ युगदेखि एक राक्षसले रामको बाटो कुरेर आफूलाई उद्धार हुने बसेका हुन्छन् । यिनीहरुबाट रामको अवतारको उद्देश्य उद्धार गर्नु वा अरुको कल्याण गर्नु हो भन्ने मान्यतालाई पुष्टि गर्दछ ।
कतिपयले रामको जीवनको उद्देश्य एक आदर्श राजा र एक आदर्श मानव बन्नु थियो भनेर बताउने गरेका छन् । राम एक दयालु, करुणावान तथा न्यायप्रिय व्यक्ति थिए । उनले आफ्नो भौतिक जीवनभर सधैँ सत्य र धर्मको पालन गरे । उनले आफ्नो र आफन्तको रक्षा गरे तथा सुखी जीवनको लागि सहयोग गरे । राम एक महान योद्धा पनि थिए । रावणजस्तो शक्तिशाली राक्षसलाई हराएका रामले अन्य धेरै राक्षसहरुको संहार गरेका थिए । यति हुँदाहुँदै पनि राम दृढ प्रतिज्ञ थिए । रामले गरेका प्रतिज्ञा पूरा गर्दथे । रामको बोली नै ब्रह्मरेखा बन्दथ्यो । रामको विषयमा सर्वसाधारणमा पनि यो कुरा निकै प्रख्यात रहेको छ – रघुकुल रीत सदा चलिआई, प्राण जाए पर वचन नजाहीँ । अर्थात्, रामले आफ्नो वचन निर्वाहलाई प्राणभन्दा पनि मूल्यवान ठान्दथे ।
सबै सर्वसाधारणले रामलाई चिन्ने अर्को उपमान हो – मर्यादापुरुषोत्तम । रामलाई मर्यादापुरुषोत्तम पनि भनिन्छ वा मर्यादापुरुषोत्तम भनेर सोझै सर्वसाधारणले रामलाई नै चिन्दछन् । यसको मूल कारण यो हो कि रामको आदर्शमा मर्यादापालन अत्यन्तै विशिष्ट रहेको छ । रामको जीवनबाट सर्वसाधारणले मर्यादाको परिपालन गर्न पनि सिक्नु पर्दछ भन्ने कुरा प्रमुख रुपमा देखिएको छ । आज पनि रामलाई मर्यादापुरुषोत्तम भनेर जुन सम्मान दिइन्छ, त्यो पनि रामको जीवनको एउटा उद्देश्यको रुपमा रहेको स्पष्ट हुन आउँछ ।
रामलाई आदर्श राजाको रुपमा पनि मानिन्छ । आज पनि जहाँ हिन्दूको बाहुल्य छ वा चिन्तन छ र त्यहाँ यदि सुख र सन्तोषको प्रसंग हुन्छ, त्यहाँ रामराज्यको मनोविज्ञान हुन पुग्छ । अहिले पनि रामराज्यको उदाहरण दिइन्छ । रामराज्यलाई राजा र प्रजा अर्थात् शासक र शासित सबैको सुख तथा ऐश्वर्यको दृष्टिकोणले सम्मान मानिन्छ । राज्यको विदेश नीति, आन्तरिक सुरक्षा तथा सर्वसाधारणको सन्तुष्टि र समृद्धिको जहाँ सर्वोच्च कल्पना गरिन्छ, त्यसलाई नै रामराज्य मानिने मनोविज्ञान रहेको हुनाले रामराज्य अर्थात् हरेक दृष्टिकोणले सुशासन र समृद्धिको राज्यको परिकल्पना पनि रामको अवतारको एउटा उद्देश्य रहेको देखिन आउँछ ।
सामान्यतया यही देखिन आउँछ कि भगवान् रामको अवतारको उद्देश्य सज्जनको उद्धार र मुक्ति, दुर्जनको संहार, आदर्श र नीतिवान व्यक्तित्व स्थापित गर्नु, सुशासन र समृद्ध राज्य, असल काम वा उद्देश्यप्रति चट्टानजस्तै दृढ रहनु तथा जसका कोही पनि छैनन्, तिनका मनोवैज्ञानिक सहारा बन्नु आदि रहेका छन् । हजारौँ वर्षसम्म रामको यश र कीर्ति विस्तार भइरहँदा उनीबाट जीवनदायी अनेक प्रेरणा पाउन सकिन्छ ।






