अम्बेडकरको जन्मजयन्ती मनाइयो

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
बाबा साहब डा. भीमराव अम्बेडकरको १३३ औँ जन्मजयन्ती जनकपुरधाममा मनाइएको छ । आइतबार तत्मा कुटीमा राष्ट्रिय तत्मा समाजका अध्यक्ष रामाशिष दासको अध्यक्षतामा धुमधामका साथ जन्मजयन्ती मनाइएको हो ।

जन्मजयन्ती समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै प्रा. बालकेश्वर ठाकुरले संविधान निर्माताले भारतको संविधानमा दलित तथा जनजाति समुदायलाई रोजगारी र राजनीतिमा आरक्षणको व्यवस्था गरेको बताए । फलस्वरूप, भारतमा दलित र जनजाति समुदायहरूले रोजगारी र राजनीतिमा उचित हिस्सा पाएको दाबी गरे । उनले भारत जस्तै नेपालमा पनि दलितलाई सरकारी र राजनीतिक क्षेत्रमा आरक्षण दिनुपर्नेमा जोड दिए ।

जन्मजयन्ती समारोहमा जनता समाजवादी पार्टी (जसपा)का नगर उपाध्यक्ष रामचन्द्र पञ्जियार, प्रेस काउन्सिलका अध्यक्ष कैलाश दास, नेपाली कांग्रेसका नेता राम केवल शर्मा, पञ्चलाल दास, जगदीश दास दलित, रघुनाथ दास, राजदेव दास, ललितादेवी दास, ब्रह्मदेव दास, राम सेवक दास, रामचन्द्र दास, रोहित दास लगायतको उपस्थिति रहेको थियो ।

एकता अभियानले पनि मनायो जन्मजयन्ती
राष्ट्रिय एकता अभियानले महान् समाज सुधारक तथा हिन्दू साहित्यका विद्वान डा. भीमराव अम्बेडकरको जन्मजयन्ती मनाएको छ । कार्यक्रममा भारतका पूर्व केन्द्रीय मन्त्री एवम् भाजपाका राष्ट्रिय प्रवक्ता, विचारक तथा भारतीय दलित आन्दोलनका नेता डा विजय सोनकर शास्त्री प्रमुख अतिथि थिए । कार्यक्रमको अध्यक्षता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए ।

कार्यक्रममा संविधानसभाका सदस्य तथा अभियानका बरिष्ठ नेता बीपी यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली दलित आन्दोलनका नेता खगेन्द्र सुनुवार, विश्लेषक युगनाथ शर्मा पौडेल सहभागी थिए । कार्यक्रममा डा. अम्बेडकरको विरासत, सामाजिक सुधार र भारतीय समाजमा उनको योगदानलाई श्रद्धांजलि अर्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button