उमेर विवादका कारण प्रा.डा. मिश्रले दिए राजीनामा

[mashshare]

मधेशदृष्टि
राजविराज ।
ऐन विपरीत उमेर हद नाघेका व्यक्तिलाई नियुक्ति विवादमा परेका रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षबाट प्रा.डा. पर्शुराम मिश्रले राजीनामा दिएका छन् । उमेर हद विवाद भए पनि पारिवारिक कारण देखाउदै कार्य निर्वाह गर्न असमर्थ रहेको बताउँदै डा. मिश्रले बुधबार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसमक्ष राजीनामा दिएका हुन् ।

उनलाई विकास समिति गठन आदेश विपरीत अध्यक्षमा नियुक्त गरिएको आरोप लागेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मिश्रले गत माघ २८ गते नियुक्ति पत्र पाएपछि कार्यभार सम्हालेका थिए । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश २०८० विपरीत डा. पर्शुराम मिश्रलाई अध्यक्षमा नियुक्ति गरेको थियो । ऐनविपरीत उमेर हद नाघेका व्यक्तिलाई नियुक्ति गरेपछि मिश्र विवादमा परेका थिए ।

गठन आदेशमा नेपाली नागरिक, ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्तिलाई पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा नियुक्त गर्ने व्यवस्था छ । तर, मिश्रको नागरिकताअनुसार उमेर ६७ वर्ष पार गरिसकेको छ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले महोत्तरीको मनरा सिसवा– १० घर भएका प्रा.डा. मिश्रलाई रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

२०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । ०७८ जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० को ६२ बिगहा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै प्रतिष्ठानको ०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । कूल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको जग्गामा अहिले घेराबेरा बाहेक केही काम भएको छैन । पदाधिकारी नहुँदा प्रतिष्ठानको जग्गा अतिक्रमण गर्ने क्रम पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button