सञ्जय मिश्रा
रौतहट ।
ट्राफिक सप्ताह २०८० को अवसरमा रौतहटको सदरमुकाम गौरमा विभिन्न कार्यक्रम भएको छ ।
ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक कार्यालय रौतहटको आयोजनामा सोमबार बिहान सदरमुकाम गौरमा प्रभातफेरी भएको थियो। प्रभातफेरी कार्यक्रममा स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, नेपाली सेना, विभिन्न सरकारी कार्यालयका पदाधिकारी, जनप्रतिनिधि तथा विभिन्न विद्यालयका छात्रछात्राले तुल, ब्यानरसहित सहभागिता जनाएका थिए ।
प्रभातफेरीलगत्तै आयोजित कार्यक्रम सिडिओ धर्मेन्द्र कुमार मिश्र र रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले संयुक्तरूपमा उदघाटन गरेका थिए । सिडिओ मिश्रले दुर्घटनाबाट जोगिन एकजना मोटरसाइकल चालकलाई हेलमेट लागाएर देखाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सिडियो मिश्र, एसपी बुढामगरलगायतका वक्ताले ट्राफिक नियमको पालना गरेर मात्र सुरक्षित यात्रा गर्न सकिने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा सिडियो मिश्र, एसपी बुढामगर, सशस्त्र प्रहरीका एसपी माधव घिमिरे, राष्ट्रिय अनुसन्धानका एसपी चन्दन झा, नेपाली सेनाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ रौतहटका सभापती प्रेमचन्द्र झालगायतको उपस्थिति थियो।