
मधेशदृष्टि
रौतहट ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद साहले गौर हत्याकाण्डका दोषी भनेर किटानी जाहेरी परेको व्यक्तिलाई नै मन्त्री बनाइँदा सुशासन र कानुनी राज्य स्थापित हुननसक्ने बताए ।
‘आज गौरहत्याकाण्डको १७ वर्ष पुगेको दिन हो, म सर्वप्रथम महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु, पीडित परिवारप्रति समवेदन व्यक्त गर्न चाहन्छु । झण्डै १७ वर्षदेखि लगातार संघर्षमा रहेका पीडित परिवारसँग पटकपटक सरकारले न्यायका लागि प्रतिबद्धता पनि व्यक्त गरेको छ । साउन २३ गते वर्तमान सरकारले गौर हत्याकाण्डको छानबिन गर्छु र दोषीलाई कारबाही गर्छु भनेर लिखित सहमति गर्यो । तर, आज ती घटनामा मुछिएका र त्यो घटनामा दोषी भनेर जसको नाममा जोहरी दरखास्त छ ।
विभिन्न न्यायिक आयोगले त्यो घटनामा दोषी भनेर किटान गरेको व्यक्तिलाई मन्त्री बनाईयो,’ साहले भने, ‘यसरी सुशासन र कानुनी राज्यको कुरा अनि मानवअधिकारको कुरा गम्भीर भइरहेको सन्दर्भमा, यी र यस्ता घटना जो मानवअधिकार र कानुनी शासनसँग जोडिएको छ । यसलाई कसरी प्राथमिकतामा लैजान्छौँ र देशलाई आश्वस्त पार्छौँ भन्ने प्रश्न गम्भीर भइरहेको छ । आगामी बजेटमा यस्ता विषयलाई प्राथमिकतामा राख्न माग गर्दछु ।’
उनले देशमा आर्थिक संकट रहेको र उद्योगधन्दा चौपट बनेको र मुठ्ठिभरका मान्छे मालामाल भएको बताए । उनले अहिले खुलेआम देशको पैसा लुटेर विदेश लैजाने काम भइरहेको बताए । उनले भगौडा दलाल वर्गलाई कारबाही गरिनुपर्नेमा जोड दिए ।






