मधेशमा सुविधासम्पन्न अस्पताल बनाइनेः मन्त्री यादव

[mashshare]

मिश्रीलाल मधुकर
जनकपुरधाम ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मधेश प्रदेशमा सुविधासम्पन्न अस्पताल स्थापना गरिने बताएका छन् । उनले प्रादेशिक अस्पताललगायत सबै जिल्ला अस्पताल र स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न बनाइने दाबी गरे ।

जलेश्वरस्थित अग्रवाल पार्टी प्यालेसमा अवध मिथिला फाउन्डेसन र इन्डो नेपाल डाक्टर फोरमको संयुक्त आयोजनामा भएको होली मिलन कार्यक्रममा यादवले भने, ‘मधेश प्रदेशमा जनघनत्व बढी भएकाले स्वास्थ्य सेवा राम्रो हुन सकेको छैन, त्यसैले अस्पतालमा डाक्टर र अन्य स्वास्थ्यकर्मीको संख्या बढाइनेछ ।’ उनले एम्स स्थापनाको पहल इन्डो–नेपाल डाक्टर फोरमले पहल गरिरहेको र आफू प्रतिबद्ध रहेको बताए । ‘स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएको छु, अहिले जिम्मेवारी बढेको छ,’ उनले भने, ‘अवध मिथिला फाउन्डेसन र इन्डो नेपाल डाक्टर फोरमले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दछु ।’

डा.पीके ठाकुरको अध्यक्षतामा भएको होली मिलन समारोहमा मधेश प्रदेशका पूर्व प्रमुख हरिशङ्कर मिश्र, खेलकुद तथा समाजकल्याणमन्त्री सुरिता साह, मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादव, पूर्व सङ्घीय कृषि राज्यमन्त्री हरिनारायण यादवको सहभागिता थियो । यस्तै, जलेश्वरका मेयर हरिनारायण यादव, पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव, जलेश्वरका मेयर सुरेशकुमार साह, पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादव, इन्डो नेपाल डाक्टर्स फोरमका सचिव डा रामदेव चौधरी, कोषाध्यक्ष डा. रवि पाण्डे, प्रवक्ता डा. मीसा महासेठ, अवध मिथिला फाउन्डेसनका सचिव राजेन्द्र साह, डा.विजय साह, सञ्जु कुमारी यादवलगायतका विभिन्न व्यक्तिको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button