मधेशदृष्टि
वीरगंज ।
सरकारले सीमाक्षेत्रबाट हुने तस्करी र अपराध रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ गरेको छ । उसो त सशस्त्र प्रहरीले पनि कठोरसँग सीमा क्षेत्रमा चोरीतस्करी र अपराध रोकेकै छ । करोडौँ रुपैयाँ बराबरको सामान बरामद गरेर तस्करी नियन्त्रणमा लागेकै देखिएको छ । पूर्वदेखि पश्चिमसम्म सीमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रिय छ ।
तर केही मिडियाले बुझ्दै नबुझी सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा सीमा क्षेत्रमा तस्करी बढेको भनेर अफवाह फैलाएपछि पर्सा प्रहरीले यस्तो नभएको बताएको छ । शनिबार मात्र काठमाडौबाट आएको एउटा निजीक्षेत्रको टेलिभिजन समूहले वीरगंज भन्सारनजिकै एक स्थानीयको हवाला दिँदै प्रहरीको मिलेमतोमा पर्साको वीरगंजमा खुलेआम तस्करी भइरहेको समाचार प्रसारण गरेपछि प्रहरीले यस्तो प्रतिक्रिया दिएको हो ।
टेलिभिजनले भन्सारनजिकै भारतबाट सामान ल्याउदै गर्दा भेटिएका एक स्थानीयले बोलेको आधारमा ‘भन्सार प्रमुख र प्रहरीको मिलेमतोमा तस्करी बढेको’ भन्ने विषयबस्तु जोडेर समाचार प्रसारण गरेपछि प्रहरीले तस्करीमा कतै प्रहरीको संलग्नता नभएको बताएको हो ।
सीमाक्षेत्रमा पहिलो चेकिङ सशस्त्र प्रहरीले गर्दछ भन्ने सामान्य ज्ञान सबैमा हुन जरुरी छ । यस्तोमा नेपाल प्रहरीको संलग्नता हुने सबाल नै आएन । ‘मिडियामा आएजस्तो तस्करीमा मातहतका प्रहरी कर्मचारीको संलग्नता छैन,’ भन्सारकै एक कर्मचारीले भने, ‘जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी प्रमुख बनेर प्रहरी उपरीक्षक कुमोद ढुंगेल आएपछि भन्सार प्रमुखसँगको समन्वयमा तस्करी नियन्त्रणमा अरु कडाइ भएको छ ।’ उनले भन्सार नाकामा यस्तो कडाइ पहिला नभएको बताए ।
२ वर्षदेखि कार्यालयमा कार्यरत ती कर्मचारी भन्छन्, ‘तस्करीमा भएको कडाइ देखेर आफैँ अचम्मित छु । प्रहरी प्रमुखले गरेको कडाइको सराहना गर्दछु ।’ नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई तस्करी रोक्न सघाउने हो । वीरगंजमा सशस्त्र प्रहरीजतिकै नेपाल प्रहरीको पनि तस्करी रोक्न भूमिका खेलिरहेको छ ।