समितिको व्यवस्थापनले सहज बन्यो काठ वितरण

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
मालो समयदेखि लथालिङ्ग अवस्थामा रहेको रौतहट वन आपूर्ति समिति व्यवस्थित हुँदै गएको छ । काठ दाउराको लागि निवेदन दिएर वर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य भएर सहज रुपमा काठ दाउरा वितरण भइरहेको छ । डिवीजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र र समिति अध्यक्ष रामाप्रवेश दास तत्माको सहकार्यमा आपूर्ति समिति व्यवस्थित हुँदै गएको हो । व्यवस्थित भएसँगै आपूर्ति समितिमा काठको लागि निवेदन दिएर वर्षौ कुर्नुपर्ने व्यवस्थाको अन्त भएको छ ।

अब सेवाग्राहीले घर कामको लागि निवेदन दर्ता गर्नासाथ प्रक्रिया सुरु हुने गरेको अध्यक्ष तत्माले जानकारी दिए । दैवीप्रकोप अथवा छोरीको बिहेको लागि फर्नीचर बनाउन प्रक्रिया पूरा भए हातका हात आवश्यक काठ उपलब्ध भइरहेको उनको भनाइ छ । मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयबाट गत साउन १८ गते लोकतान्त्रिक समाजवादी पार्टीको सिफारिसमा कटहरिया नगरपालिका वडा नम्बर २ जमुनियाका रामाप्रवेश दास तत्मा जिल्ला वन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्षमा मनोनित भएका थिए । हाल रौतहट आपूर्ति समिति प्रदेशमै उत्कृष्ट भएको उनको दाबी रहेको छ ।

दैविक प्रकोप घरमा आगलागी हुँदा प्रती परिवार ४० क्युबि सालको काठ, छोरीको बिहेमा फर्नीचर को लागि सालको ३० क्युबी साल अथवा अन्य जातको काठ उपलब्ध गराइरहेको आपूर्ति समितिका अध्यक्ष तत्माले बताए । त्यसैगरी साना उद्योगीलाई तथा विकास निर्माण, विद्यालय, धर्मशाला, मठ मन्दिर, अस्पतालमा फर्नीचर निर्माणका लागि १५० क्युबि, घरकाजमा ७० क्युबि काठ वितरण भइरहेको अध्यक्ष रामाप्रवेश दास तत्माले बताए । विगतमा काठको लागि निवेदन दिएर तीन चार वर्ष कुर्नुपर्ने अवस्था भए पनि अहिले त्यस्तो अवस्थाको नभएको र आवश्यकता अनुसारको काठ वितरण भइरहेको अध्यक्ष तत्माको भनाइ छ ।

गत मंसिर देखि काठ वितरणको लागि स्थलगत निरीक्षण पश्चात १२ सय सेवाग्राहीलाई काठ उपलब्ध गराउन नाम निस्केको र आगामी वैशाख महिनाभित्र थप ८०० सय सेवाग्राहीको नाम निकाल्ने लक्ष्यका साथ काम अगाडी बढेको उनले बताए । विगतमा लथालिङ्ग हुँदा उपभोक्ताले आश मारिसकेका थिए । अहिले निवेदन दिएकालाई प्रक्रिया पुर्याएर एक हप्ताभित्र काठ दिने गरिएको छ । १८ स्थानिय तह रहेको रौतहटमा चन्द्रनिगाहपुर स्थित आपूर्ती समितिले काठ वितरण गर्दा दक्षिणी भेगका जनतालाई कठिनाई भइरहेको छ । आउँदा दिनमा थप पायक पर्ने एक स्थानमा डिपो राख्ने योजना रहेको अध्यक्ष तत्माले बताए । त्यसैगरी चालु आर्थिक वर्षमा एकघर एक बिरुवा लगाउने उद्देश्यले १० लाख रुपैयाँ छुट्याएको छ । पाँच लाखको आँप लिची बिरुवा किनेर बितरण गर्ने, पाँच लाखको बिरुवा बनको नरसरीमै उत्पादन गराई वितरण गर्ने योजना रहेको तत्माले बताए ।

डिवीजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले यस आर्थिक वर्षमा १५६ जना सेवाग्राहीलाई घरकाज, दैवीप्रकोप ७८ जनालाई काठ र १३८ जना सेवाग्राहीलाई दाउरा उपलब्ध गराइएको जानकारी दिए । घरकाजमा बितरण गरिएको १० हजार ९७६ क्युबि फिट, दैवीप्रकोपमा तीनहजार एक सय साढे ७५ क्युबि फिट र ९८ चटा दाउरा वितरणबाट कुल २ करोड, १३ लाख, ९२ हजार, २७८ रुपैयाँ राजस्व संकलन गरिएको डिभिजन प्रमुख मिश्रले जानकारी दिए । रौतहट वन आपूर्ति समिति विगतको भन्दा व्यवस्थित भएको र हाल देखिएको केही साधनस्रोतको कमीलाई आगामी दिनमा थप व्यवस्थित गर्ने प्रमुख मिश्रले प्रतिवद्धता जनाए ।

वन आपूर्ति समितिले सही उपभोक्ताको पहिचान गरी सहज रुपमा काठ दाउरा वितरण सुरु गर्दा राष्ट्रिय तथा सामुदायिक वनमा विगतको तुलनामा हानी नोक्सानी कम हुँदै गएको स्थानीयहरूले बताएका छन् । यस अघि घरकाज अथवा फर्निचरको लागि डिभिजन वन कार्यालय रौतहटले सहज रुपमा काठ दाउरा उपलब्ध नगराउँदा बाध्य भएर स्थानीयहरु चोरी कटानी गरी साललगायत जातको काठ वनबाट ल्याउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button