BREAKING NEWS: सिटी स्क्यान प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहको सेटिङमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि खरिद गर्न लागेको सिटी स्क्यान खरिद प्रकरणमा बदमासी भएको समाचार आएपछि मधेश प्रदेश सकारकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा नवौँ तहका अधिकृत डा. ईन्द्रजीत रजक, बायोमेड इञ्जिनियर शैलेन्द्र यादव र शाखा अधिकृत रवीन्द्र यादव छन् । उनीहरुलाई प्रदेश सरकारको मन्त्रिपरिषद्बाट छानबिनका लागि बनेको समितिको पत्र पुगेको छ ।

स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गर्न लागेको २० करोड रुपैयाँको दुई वटा सिटी स्क्यान मेसिन खरिदका लागि मेडिकल व्यवसायी विशाल पण्डितको हस्पिटेक कम्पनीले मात्र खरिद गर्न पाउने गरी २०१२ को १२ वर्ष पुरानो फिलिप्सको मेसिन किन्ने प्रयोजनसहित टेन्डर स्पेसलक गरेको थियो । यसका लागि स्वास्थ्यमन्त्री सिंह स्वयम्ले विशाल पण्डितको काठमाडौँस्थित बसेरा होटलमा वार्ता गरेका थिए ।

पण्डितलाई ठेक्का दिन मुख्यमन्त्री सरोजकुमार यादवसँग सल्लाह गरेर निर्देशक नागेन्द्र यादवलाई सरुवा गरेर मन्त्री सिंहले आफ्ना विश्वासपात्र डा. मनीष पाण्डेलाई निमित्त निर्देशक बनाएका थिए भने पण्डितको कम्पनीलाई ठेक्का दिने प्रोजेक्ट बनाउन पण्डितकै कम्पनीका पूर्वकर्मचारी वन्दना मिश्रलाई परामर्शदाता नियुक्त गरिएको थियो । दरबन्दीका बायोमेड इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गरिएको थियो । अहिले छानबिनमा उनै शैलेन्द्र यादवलाई सरकारले जिम्मेवारी दिएको छ ।

एउटा व्यवसायीको सेटिङमा खरिद प्रकरण अघि बढेपछि मधेशदृष्टिले लगातार खबरदारी गरिरहेको थियो । खबरदारीपछि मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेश प्रदेश सभाको सार्वजनिक लेखा समितिमा मेडिकल व्यवसायी नारायण कार्कीले माफियाको चंगुलमा परेर एउटा कम्पनीलाई मात्र ठेक्का दिने काम रोकेर सबैलाई प्रतिस्पर्धा गर्न पाउने गरी टेन्डर आव्हान गर्न र पण्डित, पाण्डे र मिश्रमाथि छानबिन गरी कारबाही गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button