
मधेशदृष्टि
वीरगंज ।
केहि साता यता लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ । यही फागुन २४ गते बिहीबारदेखि महानगरका ३२ वटै वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्न लागिएको हो । लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि फागुन २४ गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने महानगरका सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।
नगर प्रमुख राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि बिहानको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने तालिका रहेको मियाँले बताए । मियाँका अनुसार विषादी, पानी र मट्टितेलको मिसावट गरी बनाइएको स्प्रे फाल्गुन २४ गते वीरगंज महानगरको वडा नम्बर १, २, ३ र ४ मा छरिने छ । यस्तै फाल्गुन २५ गते वडा नम्बर ५,६,७ र ८ मा, फाल्गुन २६ गते वडा नम्बर ९, १०, ११ र १२ मा, फाल्गुन २७ गते वडा नम्बर १३, १४, १५ र १६ मा, फाल्गुन २८ गते वडा नम्बर १७, १९, २५ र २६ मा विषादी छरिने मियाँले बताए । त्यसैगरी फाल्गुन २९ गते वडा नम्बर १८, २०, २२ र २७ मा, फाल्गुन ३० गते वडा नम्बरर २१, २३, २४ र ३० मा र चैत १ गते वडा नम्बर २८, २९, ३१ र ३२ मा स्प्रे गरिने मियाँले जानकारी दिए । चैत २ गतेदेखि पुनः दोस्रो राउण्डको स्प्रे सुरु गरिने पनि मियाँले बताए ।





