
अनिल पोखरेल
राजविराज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे क्षेत्रमा उत्खनन् गरी गिटी, बालुवा विदेश निर्यात गरेर वन विनाश गर्दा पानीको सतह गहिरिँदै गएकाले निकट भविष्यमै मधेशका किसानले सिँचाइको ठूलो मार खेप्नुपर्ने बताएका छन् । शनिबार सप्तरीको राजविराजमा समाजवादी किसान महासंघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित मधेश प्रदेशस्तरीय अगुवा किसान भेला तथा पुनर्गठन कार्यक्रममा यादवले यस्तो बताएका हुन् ।
अध्यक्ष यादवले चुरे विनाशले तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको र पानीको श्रोत विस्तारै सुक्दै गएकामा चिन्ता व्यक्त गर्दै चुरे संरक्षण नहुने हो भने त्यसको प्रत्यक्ष प्रभाव पशुपालन र कृषिक्षेत्रमा पर्न गई किसानले आत्महत्या गर्नुपर्ने दिन आउन सक्ने बताए । ‘देशका ८० प्रतिशत जनता कृषिमा पेशामा छन्, तर राज्यले ४–५ प्रतिशत मात्र कृषिमा बजेट विनियोजन गर्छ,’ उनले भने, ‘राज्यले किसान र कृषिक्षेत्रलाई महत्व नदिँदा कृषि क्षेत्र ध्वस्त हुन पुगेको छ ।’
कृषि उर्वर भूमि मधेश मरुभूमिमा परिणत भई पानी खान नपाएर पशुचौपाया मर्न थाल्ने र त्यसको मार किसानले खेप्नुपर्ने बताउँदै अध्यक्ष यादवले पर्यावरण सन्तुलन राख्न चुरे संरक्षणमा जोड दिए । उनले राज्यको विभेदकारी नीतिका कारण कृषिक्षेत्र पछाडि परेकाले कृषि नीतिमा पूरै परिवर्तन नभएसम्म कृषिक्षेत्र समृद्ध र सबल नहुने टिप्पणी गरे । राज्यले कृषिक्षेत्रलाई उपेक्षा गरेकै कारण कृषिमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेकाले राज्यले कुल बजेटको २५ प्रतिशत लगानी लगाउनुपर्नेमा जोड दिए । राज्यकै कमजोर नीति, योजना र आग्रहपूर्वाग्रहका कारण कृषिक्षेत्र उपेक्षित बन्न पुगेकाले कृषिको आधुनिकीकरण हुन नसकेको र जरुरी रहेको यादवको तर्क थियो ।
उनले कृषिक्षेत्रको विकासका लागि सिँचाइ, समयमा मलखाद, किसानलाई सहुलियतदरमा ऋणको व्यवस्था गरी विज्ञान र प्रविधिबाट उत्पादन गरी उत्पादन वृद्वि गर्न सकिनेमा जोड दिए । किसानले आफ्नो हकहितको लागि सङ्गठित भई किसानको समस्याका लागि उचित न्याय, मूल्य निर्धारणका लागि सङ्गठित भएमात्र कृषि र किसानको विकास हुनसक्नेमा जोड दिए ।
‘कृषि उत्पादनमा ह्रास आउँदा त्यसको असर उद्योग व्यवसायमा समेत पर्न गएको छ,’ अध्यक्ष यादवले भने, ‘उद्योग व्यवसाय बर्बाद भएको छ, राज्यको गलत नीति र किसानप्रति आग्रह पूर्वाग्रहले कृषिक्षेत्र उपेक्षित भएको छ ।’ मुलुकमा रहेको अभाव र बेरोजगारी समस्या अन्त्य गर्न कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र समृद्ध र सम्पन्न बनाउनुपर्ने उनको जोड थियो । अध्यक्ष यादवले ३०–३५ वर्ष पहिले बंगलादेश, कोरियासहित अन्तर्राष्ट्रिय मुलुकमा कृषि उपज निर्यात गर्ने नेपाल अहिले लसुन, प्याज र खाद्यान्न भारतसहितका छिमेकी मुलुकबाट आयात गर्नुपर्ने स्थितिमा पुग्नु दुर्भाग्य भएको बताए । अध्यक्ष यादवले सरकारको स्वामित्वमा रहेको दुग्ध विकास परियोजनाले किसानलाई करोडौँ भुक्तानी रोकी ठगिरहँदा समेत सरकार गम्भीर नभएको भन्दै आक्रोश व्यक्त गरे । उनले आन्दोलनरत किसानको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
समाजवादी किसान महासङ्घका अध्यक्ष सञ्जय सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीति समिति सदस्य कैलाश यादव, केन्द्रीय सदस्यहरू विकास तिवारी, विन्देश्वर प्रसाद यादव बिक्की, शैलेन्द्र मोहन झा, सप्तरी अध्यक्ष केदार प्रसाद यादव, समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिला देवी साह, राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । समाजवादी किसान महासङ्घका केन्द्रीय उपमहासचिव तब्रेज अहमदद्वारा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष उम्मेदवार दासले गरे । दुई दिनसम्म जारी रहने भेलाले मधेश प्रदेशस्तरीय समिति पुनर्गठन गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीका अध्यक्ष एवम् भेलाका प्रतिनिधि हरेराम यादवले जानकारी दिए ।






