
मधेशदृष्टि
वीरगंज ।
वीरगंज कलेजले विद्यार्थीहरुमा उद्यमशीलता विकासका लागि सिक्दै कमाउदै कार्यक्रम अन्तरगत २ दिने खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । सोमबार कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुमा सिक्दै कमाउदै अवधारणाको साथै उद्यमशीलता विकासमा टेवा पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
विधार्थीहरुले सिकेको सिपलाई व्यहवारिक रुपमा समेत लागु गर्न सकोस भन्ने अभिप्रायले खाना तथा सांस्कृतिक कार्यक्रमका आयोजना गर्न लागिएको वीरगंज कलेज डाईरेक्टर डा.दिपेन्द्र कुमार चौधरीले जानकारी दिए । कलेजले गतवर्ष पनि वीरगंजमा पहिलो पटक खाना तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यसवर्ष पनि फागुन १८ गते र १९ गते २ दिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म बी.पी उद्यानको फुटपाथमा खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको हो ।
यस कार्यक्रमले विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन हौसला प्रदान गर्नुका साथै बारा, पर्साका लोक सांस्कृतिक तथा पराम्परागत खानाहरुको प्रवद्धन हुने चौधरीले बताए । मेलामा ३० वटा भन्दा बढी स्टलहरु रहने र स्टलहरुबाट बिक्री भएका आम्दानी विद्यार्थीहरुको हुने क्याम्पस प्रशासनले जनाएको छ । यस्तै मेला प्रवेशमा कुनै प्रकारको शूल्क नलाग्ने आयोजकले जनाएको छ ।






