
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ४ गते मंगलबार उनले विश्वासको मत लिने तयारी गरेको प्रदेश सभा कार्यालयले जनाएको छ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारले वैशाख ४ गते चौथो पटक विश्वासको मत लिन तयारी गरेको प्रदेशसभाका सभाुमख रामचन्द्र मण्डलले बताए ।
प्रदेश सभाका सभामुख मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभाको कार्यालयमा पत्र आएको जानकारी दिए । चैत ९ गते नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएको थियो । कांग्रेस बाहिरिएसँगै संवैधानिक व्यवस्थाबमोजिम मधेश सरकारका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिन पत्रचार गरेको प्रदेश सभाका सभामुख मण्डलले बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट वैशाख ४ गते विश्वासको मत लिन व्यवस्थापनमा सहजीकरण गर्न भन्दै पत्र आएको जानकारी दिए ।
सरकारले विश्वासको मत लिन प्रदेश सभाका सबै सदस्यलाई जानकारीसमेत दिइसकिएको छ । सरकारबाट समर्थन फिर्ता भएको २५ औँ दिनमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । मधेश प्रदेशमा दोस्रोपटक यादव नेतृत्वमा बनेको सरकारले १५ महिनामै चौथो पटक विश्वासको मत लिने तयारी गरेको हो ।






