
एसपी गौरव
सर्लाही ।
नवलपुर क्षेत्रबाट भेटेरिनरी प्रमाण पत्रको आडमा गोरु निकासी हुने गरेको पाइएको छ । लालबन्दी नगरपालिका–१ स्थित नवलपुर बजारबाट बाहिर निकासी हुने गोरुको भेटेरिनरी प्रमाण पत्र स्थानीय गोरु व्यापारी आफैँले बनाएर पठाउने गरेको प्रमाण मधेशदृष्टिले फेला पारेको छ ।
पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.सत्येन्द्र कुमार रायले हस्ताक्षर गरेर भेटेरिनरी प्रमाण पत्र नवलपुर बजारका गोरु व्यापारी निरज कुमार सिंहलाई दिने र उनले आफैँले भेटेरिनरी प्रमाण पत्र भरेर सही छाप गरेर पठाउने गरेका पाइएको हो । नेपाल पशु चिकित्सक परिषद् दर्ता नम्बर १२६५ भएका डा.राय सरकारी सेवामा रहेको भए पनि उनले एउटा भेटेरिनरी प्रमाण पत्रको पाँच सय रुपैयाँ लिएर पहिला नै भेटेरिनरी प्रमाण पत्रमा हस्ताक्षर गरी पठाउने गरेका प्रमाण फेला परेको हो ।
गोरु व्यापारी सिंहका अनुसार, पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.राय एउटा मात्र ट्रक लोड हुने समयमा नवलपुर नआउने र दुई–तीनवटा ट्रक लोड हुने भए मात्रै आउने गरेका छन् । तथापि पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.रायले आँखैले हेरेर भेटेरिनरी प्रमाण पत्र भरेर सही छाप गरी पठाउने गरेको उनले स्वीकार गरे । एउटा मात्र ट्रक लोड हुँदा गोरु व्यापारी सिंह आफैँले पशु सेवा कार्यालय मलंगवाका पशु सेवा प्राविधिक डा.रायको अनुपस्थितिमा भेटेरिनरी प्रमाण पत्र भरेर पठाउने गरेका छन् ।
इलाका प्रहरी कार्यालयहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयका साथै प्रदेश प्रहरी कार्यालयलाई कमिसन दिएर लालबन्दी नगरपालिका–१, नवलपुरबाट झापाको दमक गोरुबजारसम्म गोरु निकासी हुने गरेको गोरु व्यापारी सिंहले बताए । लालबन्दी नगरपालिकाले गत वर्ष झैँ यस वर्ष नवलपुर गोरु बजारको ठेक्का नलगाई नगरपालिका आफैँले प्रति ट्रक तीन हजार रुपैयाँमा दैनिक रसिद काटिरहेको छ ।






