
मधेशदृष्टि
वीरगंज ।
बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याको विरोधमा बाराको कलैया बजार बन्द घोषणा भएको छ । बारा उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द घोषणा गरिएको हो ।
यस्तै, बारा शैक्षिक संस्थाहरुले आज शोक मनाउने निर्णय गरेका छन् । हत्यारा पत्ता लगाउन माग गरेका छन् । सोमबार दिउँसो सवा १ बजे रोजमेरी रेष्टुरेन्टबाट खाजा खाएर स्कुल जाने क्रममा भरतचोक नजिकै मदर्सा चोकमा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले गोली प्रहार गर्दा घाइते स्वर्णकारको वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारक्रममा निधन भएको थियो ।
घटनामा संलग्न आंशकामा प्रहरीले दुई नेपाली र चार भारतीयलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा स्वर्णकारकै स्कुलमा लेखापाल रहेकी राधा गुप्ता पनि छिन् । अन्यको नाम प्रहरीले खुलाएको छैन । यस्तै, घटनामा प्रयोग भएको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने तयारी गरेको छ ।







