सफाइलगत्तै नगर प्रमुखविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दर्ता

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
केही समयपूर्व एउटा भ्रष्टाचारको मुद्दामा सफाई पाएका धनुषाका तत्कालीन सहिद नगरपालिकाका नगर प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगले अर्को भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको दाबी गर्दै धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध विशेष अदालत काठमाडौँ मुद्दा दायर गरेको छ ।

आयोगले सशर्त अनुदानको रकमबाट स्यानिटरी प्याड खरिदको लागि २०७७ फागुन १९ गते रेजा ट्रेडिङ्गसँग खरिद सम्झौता गरे पनि त्यसअघि नै भुक्तानी गरिसकेको आयोगको अनुसन्धानमा खुलेको बताइएको छ । खरिदका लागि शिलबन्दी दरभाउपत्र आह्वान गर्दा आवश्यक स्यानिटरी प्याडको संख्या उल्लेख नगरी विज्ञापन गरेको पाइएको छ ।
राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा सूचना प्रकाशित गरेको कागज तयार पारे पनि त्यहाँ कुनै सूचना ननिकालिएको आयोगले जनाएको छ । प्रक्रिया सञ्चालकसमेतको मिलेमतोमा खरिद कानुनको प्रावधानविपरीत झुट्टा विवरण एवम् सूचना तयार गरी गलत कागजातका आधारमा बदनियतपूर्ण ढंगले खरिद गरी १३ लाख ९३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आयोगको अभियोग पत्रमा उल्लेख छ ।

आयोगले तत्कालीन नगरप्रमुख उदयकुमार यादव, उपप्रमुख शिलादेवी कापर, तत्कालीन प्रशासकीय अधिकृत शत्रुधन यादवलाई विपक्षी बनाइएको छ । उनीविरुद्ध १३ लाख ९३ हजार ६ सय ८७ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, आयोगले लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीपकुमार राई, स्वास्थ्य संयोजक कपिल प्रसाद अधिकारी, प्रध्यानाध्यापक श्रीकृष्ण भिनार, तत्कालीन सबइञ्जिनियार सरोजकुमार महतोविरुद्ध मुद्दा दायर गरेको छ । त्यस्तै रेजा ट्रेडिङ्गका प्रोपाइटर एवम् रेजा टुडेका प्रकाशक अकवर मन्सुरविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button