
मधेशदृष्टि
वीरगंज ।
प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार चौथोपटक प्रधानमन्त्रीकालमा विश्वासको मत लिँदैछन् । यसअघि पनि उनकै समर्थनमा पुष्पकमल दाहाल नेतृत्वको सरकार थियो । दाहालपछि ओली नै प्रधानमन्त्री हुने र एमाले–माओवादी पार्टी एकतासम्मका कुरा थिए । तर हठात् ओली यसबाट पछि हटे र नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री हुन तयार भए । उनी प्रधानमन्त्री हुँदा कानुनी बाटो मिचेको, नेपालको संविधानको धारा ७२ को उपधारा ३ अनुसार प्रधानमन्त्री चयन हुनु पर्नेमा उपधारा २ नै प्रयोग भएको अनेक विवाद र बहस जारी छन् । प्रधानमन्त्री दुई ठूला दलसँगै मधेशी दलहरुको समर्थनमा भारी अंक ल्याउने गरी विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिइरहँदा नेपाल भारत सम्बन्ध अरु खतराको मोडमा पुगेको भन्दै चर्चा भइरहेको छ । भारतीय पक्षबाट पनि यसको चर्चा भएको छ । पूर्वभारतीय राजदूत केभी राजनले नेपाल–भारत सम्बन्ध खतरामा रहेको टिप्पणी गरेपछि ओलीलाई दक्षिणको छिमेकीले अझै नरुचाएको र नचाहेको भन्ने सन्देश पनि प्रवाह भइरहेको छ । नेपालका लागि भारतीय राजदूत रहिसकेका केभी राजनले ७५ वर्षको नेपाल–भारत सम्बन्धको इतिहासमा यस्तो खराब सम्बन्ध यसअघि कहिल्यै नभएको टिप्पणी गरेका छन् । लामो समय नेपालमा रहेर राजदूत तथा अन्य पदमा काम गरेका राजनले नेपालका तर्फबाट भारतलाई ठूलै खतरा रहेको दाबी गरेपछि विभिन्न कोणबाट उसको उत्तर खोज्न पनि थालिएको छ ।
नेपालबारे राजनको प्रकाशित पुस्तक ‘काठमाडौँ क्रोनिकल रिक्लेमिङ इन्डिया–नेपाल रिलेसेन्स’ बारे पत्रकारसँगको संवादमा पूर्वराजदूत राजनले भारतलाई नेपालीबाट होइन, अरू देशले नेपाललाई भारतविरुद्ध प्रयोग गर्ने खतराको संकेत गरेका छन् । चीनले नेपाललाई भारतविरुद्ध प्रयोग गरिरहेको उनको दाबी छ । चीन नेपालबारे तिब्बतलाई लिएर मात्र चिन्तित रहेको र तिब्बतकै कारण नेपाललाई उसले विशेष चासो दिएको राजनको दाबी छ ।
नेपाल मामिलाका जानकार मानिएका पूर्वराजदूत राजनले चीनको मामिलामा नेपाल भारतको साथ रहोस् भनेर भारतले चाहेको र भारतका लागि हिमाल एउटा सीमाका रूपमा रहोस् भन्ने अपेक्षा रहेको बताए । पछिल्लो समय नेपाल चीनतर्फ हेर्न थालेको र चीन कार्ड खेल्न थालेको उनको टिप्पणी छ । उनका बुझाइ छ कि, चीनले नेपालबाट ठूलो स्वरमा बोल्न लागेको छ । नेपाललाई पनि भारतमाथि विश्वास नगर्न भनिरहेको छ । र, राजनको तर्क छ, ‘कहिलेकहीँको सन्दर्भमा नेपालले पनि चीनले भनेको मानिरहेको छ ।’
केपी ओली नै प्रधानमन्त्री भएका बेला नेपालले नयाँ नक्सा पारित गरेको र त्यो नक्सालाई एक सय रुपैयाँको नोटमा राख्ने निर्णय गरिसकेकोले यसले भारतलाई निकै गम्भीर बनाएको उनको भनाइ छ । यो घटनाले अब नेपाल–भारतबीच सीमा विवाद कहिले समाधान नहुने उनको दाबी छ । उनले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको सरकारका पालामा र एमालेसँगको गठबन्धनको सरकारले एकसय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेको हो ।’
नक्सा कार्यान्वयनमा नआए पनि धेरैपछि एक सयको नोट नेपाली जनताले हेर्दा उसलाई लाग्नेछ कि भारतले नेपालको भूमि कब्जा गरेको छ । यसले भारतप्रति नकारात्मक सोच तयार हुने उनले जिकिर गरे । लिपुलेक, कालापानी, लिम्पियाधुरा धेरै पहिलादेखि भारतको अधीनमा रहेको दाबी गर्दै राजनले नेपालले कहिले पनि त्यसमा आफ्नो दाबी नगरेको तर अहिले दाबी गर्नुका पछाडि धेरै कारण रहेको बताए ।
नेपालमा भइरहेको गतिविधिलाई गम्भीर रूपमा अध्ययन गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बेला आएको राजनको तर्क छ । ‘नेपाल भारतको यति नजिक छ कि हामी सोच्न बाध्य भएका छौँ कि नेपालमा यो के भइरहेको छ ?,’ उनले भनेका छन्, ‘हामीले बुझ्नुपर्छ नेपालका तर्फबाट पनि खतरा हुनसक्छ । त्यसले रोटीबेटीको सम्बन्धमाथि पनि खतरा हुनसक्छ ।’ राजनले लेखेको पुस्तकमा दरबार हत्याकाण्डबारे भनिएको छ, ‘हत्याकाण्ड आइएसआइको योजनामा भएको हो ।’ प्रधानमन्त्री केपी ओलीका अघिल्ला कार्यकालहरुमा पनि भारत नेपालसँग सम्बन्ध सुधार गर्न चाहँदा पनि नेपालले नै भारतविरोधी मत बनाएको भारतको बुझाइ थियो । ओलीले नै नेपालको चुच्चे नक्सालाई राष्ट्रियतासँग जोडेर आफूले नै यो काम गरेको बताएका थिए । यसपटक उनी विश्वासको मत लिएर अघि बढ्न खोज्दा शुरुमै नेपाल मामिलाका जानकार भारतीयको टिप्पणी आएपछि भारतसँगको सम्बन्ध सुधारमा ओलीले गर्ने व्यवहार कस्तो हुने हो, बहस शुरु भएका छन् ।






