
किरण कर्ण
जनकपुरधाम ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा पनि रात्रीबजार सञ्चालनका लागि व्यवसायीले सुरक्षा निकाय र स्थानीय तहसँग अनुमति मागेका छन् । यद्यपि मधेश प्रदेशको राजधानी जनकपुरधाममा राति ९ बजेपछि पसलदेखि होटेल व्यवसाय बन्द गर्नुपर्ने प्रहरीप्रशासनको द्वन्द्वकालीन शासन कायम छ ।
विगतमा द्वन्द्वकाल र विभिन्न आपराधिक घटनालाई नियन्त्रणमा लिन प्रहरीप्रशासनले राति ९ बजेसम्म मात्रै बजार खोल्न तथा सञ्चालन गर्न पाउने र घुमफिरमा समेत कडाई गरेको थियो । त्यतिबेला यसको कतैबाट विरोध नभए पनि मधेश प्रदेशको राजधानी, जानकीनगरमा यो व्यवस्थाले विदेशबाट घुम्न आउनेलाई गासबासमा समस्या हुने गरेको थियो । तर अब संगठितरुपमै रातिसम्म बजार, व्यवसाय र होटेल सञ्चालन हुनुपर्ने भन्दै आवाज उठ्न थालेको छ ।
जनकपुरधाममा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन जनकपुरधाम उद्योग वाणिज्य संघले स्थानीय प्रशासनसँग माग गरेको छ । शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई जनकपुरधाम उद्योग वाणिज्य संघको टोलीले ज्ञापनपत्र बुझाउदै जनकपुरधाम नगर क्षेत्रमा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि माग गरे ।
धार्मिक नगरी जनकपुरधामसहित मुलुकलाई पर्यटकीय नगरीको रुपमा अघि सारेपछि यहाँ आन्तरिक तथा बाहिरी पर्यटकीयको उल्लेख्य संख्यामा जानकी मन्दिरमा दर्शनदेखि भ्रमण गर्नसम्म आउनेको भिड बढ्दै गएको छ ।
नेपालमा भारतीय तथा अन्य मुलुकका पर्यटकीय जनकपुरधाम आउँदा प्रायः खाना, बस्न, आराम गर्न र घुमफिरमा समेत सकस हुदैँ आएकोले होटल, रेष्टुरेन्ट, किराना पसल, फलफुल, फाष्टफुडसहितका पसल खोल्नसमेत शान्ति, सुरक्षाको व्यवस्था मिलाउन माग गरिको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
जनकपुरधामलाई धार्मिक नगरीका रुपमा पर्यटकीय स्थल बनाउन पनि रात्रीकालीन बजारको अवधारणाले सेवाग्राही, व्यवसायी, पर्यटक तथा देशलाई समेत फाइदा हुने उनको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहले स्थानीय प्रशासनसँग सरसल्लाह गरिएको बताए । उनले शान्ति सुरक्षा प्रबन्ध गर्नुपर्ने उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुसँग समेत रात्रीकालीन बजारका लागि छलफल भएको उनले बताए । मधेश प्रदेशकै अन्य जिल्ला मुकाममा रात्रीकालीन बजारको अभ्यास भइरहँदा जनकपुरधाममा पनि गर्न सकिने उनले बताए ।

हामीले लामो समयदेखि राति १२ बजेसम्म बजार खुल्नु पर्छ भन्दै प्रहरी प्रशासनसमक्ष दबाबस्वरुप माग गर्दैै आएको थियौँ । तर कसैले पनि यसप्रति वास्ता देखाएनन् ।
तर केही साताअघिदेखि मधेश प्रदेशको एक मात्र वीरगंज महानगरपालिकामा रात्रीकालीन बजारको अभ्यास थालिएको छ । जसले गर्दा हामीलाई बल पुगेको छ । हामीले पनि धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटेरै जनकपुरधाममा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाउनुहोस् भन्दै ज्ञापनपत्र बुझायौँ । यसप्रति हरेक सरोकारवाला सकारात्मक रहेको देखिएको छ ।
यदी जनकपुुरधाममा पनि रात्रीकालीन बजार लाग्नसके सीमावर्ती क्षेत्रबाट आउने पर्यटकलाई रातिसम्म भन्सारबाट हुने कामकारबाहीको सुविधाको व्यवस्था, बजारका लागि सुरक्षाको व्यवस्थापन, अनुगमनलगायतका यावत कुरामा ध्यान दिनुपर्ने हुन्छ । यसका लागि प्रमुख जिल्ला अधिकारीले पनि रात्रीकालीन बजारका लागि टास्क फोर्स गठनका लागि आदेश पनि दिनुभयो । त्यस्तै उद्योग वाणिज्य संघ र जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य सरोकारवालसँग पनि सकारात्मकरुपमा कुराकानी अघि बढिरहेको छ । रात्रीकालीन बजार जनकपुरधामका लागि नयाँ सिकाइ पनि हुनेछ । यसले रात्रीकालीन बजारका लागि केही गर्न सकिन्छ कि भन्ने सबैको जिज्ञासा र चासोको विषय पनि बनेको छ ।

यसका लागि प्रशासन, प्रहरी, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको पनि ध्यान जानु पर्छ । तपाईं पत्रकारहरुले पनि जनकपुरधामबारे यहाँको बजार व्यवस्थापनका लागि पनि आफ्नो ठाउँबाट आवाज उठाइदिनु होला ।
जनकपुरधाममा रात्रीकालीन बजार व्यवस्थापन तथा सञ्चालनका लागि शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघको एक टोलीले ज्ञापन पत्र बुझाएको छ । जनकपुरधाम नगर क्षेत्रमा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि माग गर्दै बुझाएको ज्ञापनपत्रप्रति हामी सकारात्मक छौँ । विगत जस्तो जनकपुर रहेन । धेरै कुराहरु फेरिएको छ ।
ऐतिहासिक धार्मिक नगरी जनकपुरधामलाई पर्यटनीय नगरीको रुपमा विकास गर्ने कुराहरु पनि छन् । यसका लागि पर्यकीयस्थल तथा पर्यटक तान्न विभिन्न उपायहरु गरिनु पनि पर्छ । आन्तरिक तथा बाहिरी पर्यटकको उल्लेख्य संख्यामा जानकी मन्दिर दर्शनदेखि भ्रमण गर्नसम्म आउनेको भिड दिनहुँ बढ्ने क्रम पनि जारी छ ।
आन्तरिक तथा बाहिरी पर्यटकीय जनकपुरधाममा आउँदा प्रायः खाना, बस्न, आराम गर्न र घुमफिर गर्न खोज्ने गर्छन् । तर समयसीमाभित्र नै बजार पसल, होटेल बन्द भएपछि तत्कालै आएका पर्यटकलाई पनि समस्या हुने गरेको गुनासो व्यवसायीको छ । जसले गर्दा हामीले पनि आफ्नो ठाउँबाट सकारात्मकरुपमा लिएका छौँ । यसका लागि एउटा टास्कफोर्स गठन गरी रात्रीकालीन बजार सञ्चालनका लागि अध्ययन गरी कार्य योजना तयार गर्ने छ । र, सो अनुसार शान्ति सुरक्षालाई ध्यान राख्दै राति १२ बजेसम्म बजार खोल्न पनि तयार पारिएको अध्ययन प्रतिवेदनले मदत मिल्नेछ ।

रात्रीकालीन बजारका लागि प्रशासनसँग कुराकानी तथा सरसल्लाह भयो । मध्यरातसम्म बजार सञ्चालन गर्नुपूर्व शान्ति सुरक्षाको अवस्था र व्यवस्थाका लागि आन्तरिक गृहकार्य चाहिन्छ ।
यसका लागि प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी र सुरक्षानिकायका अधिकारीसँग पनि रात्रीकालीन बजारका लागि छलफल भएको छ । यसका लागि सबै पक्ष सकारात्मक रहे पनि रात्रीकालीन बजार प्रबन्धका लागि आन्तरिक गृहकार्यसमेत थालिएकाले जनकपुरधाममा पनि राति बजार लाग्ने र चहलपहल बढ्ने अपेक्षा छ । यसप्रति प्रमुख जिल्ला अधिकारी दाहाल पनि सकारात्मक रहनु भएको पाइयो । मधेश प्रदेशकै अन्य जिल्ला मुकाममा रात्रीकालीन बजारको अभ्यास भइरहँदा जनकपुरधाममा पनि गर्न सकिने विश्वास छ ।
नेपाल घुम्न आउने भारतीय तथा अन्य मुलुकका विदेशी पर्यटकीयलाई सहज ढंगले यहाँ घुमफिर गर्ने वातावरणलाई मध्यनजर गर्दै रात्रीकालीन बजारको अभ्यास सुरु गर्नुअघि बजारको व्यवस्थापनका लागि एउटा टास्क फोर्स गठन गरिएको प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ । टास्कफोर्समा सरोकारवाला पक्षबाट पनि प्रतिनिधि सम्मिलित टोली छन् । कार्यदलले रात्रीकालीन बजार सञ्चालनका लागि प्रतिवेदन तयार गरी बुझाएपछि बजार व्यवस्थापनका लागि कार्य योजना बनाउने र यसका बजारमा के कति प्रहरी परिचालन गरिनु पर्छ, यसका लागि पनि सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीले गम्भीररुपमा लिनुभएको छ ।






