
मधेशदृष्टि
जनकपुरधाम ।
मितिः २०८२ भदौ २ गते
स्थानः सर्लाही
घटनाः मादक पदार्थ सेवन गरेर राति सवारी चलाउनेहरुसँग सर्लाहीमा छानबिन, जरिवाना गरेर छाड्नु पर्नेमा बार्गेनिङ गरेर गाडी राखियो । मधेश प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले भन्दा पनि गाडी छाडिएन ।
आदेश नमान्नेः राजकुमार सिलवाल, प्रहरी उपरीक्षक (एसपी)
कार्यालयः राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा
वारदातः कार्यालय प्रमुख सिलवालमाथि छानबिन शुरु
छानबिन प्रमुखः मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापा
हो, पछिल्लो समय मधेश प्रदेशका ८ जिल्लाको ट्राफिक व्यवस्थापनमा खटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालको खुलेयाम असुली धन्दाबारे तीन दर्जन उजुरी परेपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति नै बनाएको छ । कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा छानबिन समिति बनेको हो । सिलवालका कर्तुतहरुबारे कार्यालय वाक्क त बनेकै थियो, मादक पदार्थ सेवन गरेर राति सवारी चलाउनेलाई जरिवाना गर्नुपर्नेमा रकम असुलीको मोहले गाडी नियन्त्रणमा राख्ने काम भयो । यसपछि मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदीकहाँ यो कुरा पुग्यो । डिआइजीको आदेशसमेत पैसा बार्गेनिङमा जोडेर रोक्ने काम भएपछि मधेश प्रदेश प्रहरी सिलवालमाथि डण्डा बर्साउन समिति नै बनाउन बाध्य भएको हो ।
देशको प्रमुख नाका मानिने पूर्व पश्चिम राजमार्ग, बागमती प्रदेशको राजधानी हेटौँडा, आर्थिक नगरी वीरगंज, मधेश प्रदेशको राजधानी जनकपुरसँगै पूर्वपश्चिम यातायात व्यवस्थापनको इपिसेन्टर पथलैयामा ट्राफिक प्रमुखले नै बदमासी गरेर प्रहरी संगठनको बदनाम हुने अवस्था बनेपछि सिलवालमाथि छानबिन शुरु भएको छ ।
३५ उजुरी
प्रहरी उपरीक्षक राजकुमार सिलवालबारे मधेश प्रदेश प्रहरी कार्यालयमा ३५ वटा उजुरी परेको पाइएको छ । प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा छानबिन समिति बनेको छ । कार्यालयका अनुसार, सिलवाललाई लिखित स्पष्टिकरण पनि सोधिएको छ ।
डिआइजीको नाममा उठाउँथे पैसा
ट्राफिक प्रहरी प्रमुख राजकुमार सिलवालले गाईगोरु व्यापारी, तस्करसँग पनि रकम असुलेको ४ महिना भएको थियो । सर्लाहीका गाईगोरु व्यापारी शम्भु सिंहले महिनावारी १ लाख ५० हजार रुपैयाँ सिलवाललाई नियमित बुझाइरहेको डिआइजी कार्यालयमा रिपोर्ट पुगेको छ । सिलवालले डिआइजी कार्यालयलाई पनि रकम बुझाउनु पर्ने भनेर डिआइजीका नाममा समेत रकम उठाएको पाइएको हो ।
उसो त मकवानपुरबाट पथलैया हुँदै गाईगोरु लैजाने भीमले पनि मधेशका डिआइजीलाई समेत भनेर मासिक ५० हजार रुपैयाँ दिने गरेका थिए । यसरी गाईगोरुका ठेकेदार र व्यापारीसँग मात्रै सिलवालले मासिक २ लाख रुपैयाँ लिइरहेको पाइएको छ ।
अरु के के थियो आरोपहरु ?
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले क्षेत्राधिकार बाहिर गएर तस्करीका गाडी पक्राउ गर्ने र बार्गेनिङ गरी असुली धन्दा चलाउने गरेको बग्रेल्ती उजुरीका चाङ छन् ।
भन्सार चोरी पैठारीका गाडी रोकेर बार्गेनिङ गर्ने, कुरा नमिले राजश्व अनुसन्धान कार्यालय वा भन्सार पठाउने काममा सिलवालको सक्रियता बढेको पाइएको थियो । साउन ११ गते पहिलेको साझा ट्रान्सपोर्ट भन्ने हाल सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकलाई पथलैया चेकपोष्टबाट नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ डिल गरेर छाडेको विषय मधेश प्रदेश प्रहरी कार्यालयसम्म पुगेको थियो ।
ट्रान्सपोर्टमा सामान मगाउने रक्सौलका व्यापारी बृजकिशोर गुप्ता र रामाशंकरले काठमाडौँबाट रकम पठाएर ट्रक छुटाउनु परेको थियो । ट्रान्सपोर्टका मालिक बालकृष्ण पोखरेल हुन् । वीरगंज, बारा, रौतहटलगायतका मधेश प्रदेशका सीमावर्ती जिल्ला तथा पूर्वबाट आउने ट्रान्सपोर्टका गाडी रोकेर बार्गेनिङ बढाएको सिलवालमाथि आरोप छ । श्री दुर्गा ट्रान्सपोर्टका व्यवसायी मदन गुप्ताले पछिल्लो समय प्रहरी र पथलैया ट्राफिकले दुःख दिन थालेको गुनासो गरेका थिए ।
लहरीले अरु विस्थापित
पछिल्लो समय सिलवालले चलाएको अर्को धन्दा हो ६३ टन बोक्ने ठूला लहरीबाट मासिक असुली । उनले यस्ता ट्रिपरटेलर, लहरीसँग मासिक १० हजार रुपैयाँको रेट नै बनाएका थिए । पूर्वबाट हेटौँडामा शिवम सिमेन्ट, होङ्सी सिमेन्टको कोइला बोकेर जाने लहरीहरुलाई मासिक १० हजार रुपैयाँ रेट लगाएर उताबाट फर्कँदा जगदम्बा सिमेन्टको क्लिंकर बोक्न छुट दिएका थिए । ५० टन भन्दा बढी सामान बोक्ने भारतीय गाडीहरुसँग पनि उनले नियमित असुली चलाएका थिए । यस्ता गाडी समातेर बुझाउँदा उनीहरु २५ हजार रुपैयाँसम्म जरिवाना तिर्न बाध्य हुन्थे । पुराना प्रहरी उपरीक्षकहरुले यसै गरेका थिए । सिलवाल आएपछि रेट कायम गरेर भारतीय र नेपाली लहरीसँग पैसा असुलेका थिए ।
८ जिल्लामा निर्देशन
आफूले मातहतका डिआइजीले भनेको आदेशसमेत नमाने पनि एसपी सिलवालले मधेश प्रदेश प्रहरी कार्यालय मातहतका ८ वटा जिल्ला ट्राफिक कार्यालयलाई यस्ता लहरीलाई छाड्न र कतै कारबाही गर्न परेर जानकारी गराएर मात्र कारबाही गर्न उर्दी नै जारी गरेका थिए । ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर साबहरु पनि एसपी साबको उर्दीबाट हत्तु हैरान थिए । यता यसरी ६३ टनका सामान बोक्ने लहरी दौडिन थालेपछि २१ टन बोक्ने ट्रिपर व्यवसायीहरु थला परेका थिए । किस्ता तिर्न नसक्ने अवस्था बनेको थियो । ठूला कम्पनीहरुले सस्तोमा सामान बोक्न लहरी प्रयोग गर्ने र जरिवाना गर्नु पर्नेमा रेट तोकेर असुलीपछि ट्रिपर व्यवसायी मारमा परेका थिए र प्रहरी उपरीक्षक सिलवालसँग रुष्ट थिए ।
मुन्सीहरुको फुर्ति नै ठूलो
ठूला लहरी राति पास गर्न कम्पनीहरुले मुन्सी प्रयोग गरेका थिए । उनीहरु पहिला सिमरामा आइपुग्थे । त्यसपछि लहरीहरु आउँथे । त्यहाँबाट सिलवालको आदेशमा पास हुन्थे । अनि पथलैयामा फेरि मोटरसाइकलमा बसेर मुन्सीहरु आइपुग्थे र एसपीसँग सेटिङपछि लहरी पास हुन्थे । लहरी गनेर सिलवाललाई पैसा बुझाएर मुन्सीहरु वीरगंज फर्कन्थे । राति १२ देखि २ बजेसम्म यो काम हुने गरेको थियो ।
चोरीको स्करापिओ प्रयोग
चोरीका सवारीसाधन पक्राउ गरेपछि भन्सार बुझाउनु पर्ने व्यवस्था छ । भन्सारमा बुझाएपछि भन्सारले लिलाम गर्छ र देशलाई राजश्व प्राप्त हुन्छ । तर प्रहरीले नै चोरीको साधन पक्राउ गरेर भन्सार नबुझाई आफूले व्यक्तिगत रूपमा प्रयोग गरेको उदाहरणमा पनि सिलवाल जोडिएका छन् । सिलवालले चोरीको स्कारपियो गाडी पक्राउ गरेर भन्सार नबुझाई व्यक्तिगत रूपमा प्रयोग गरिरहेको पाइएको हो ।
भदौ ११ पछि छानबिन
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी कमल थापाको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले भदौ ११ गतेपछि काम शुरु गर्ने छ । ३५ वटा उजुरी परेपछि अहिले डिआइजी कार्यालयले लिखित जबाफ मागेको छ । उनले भदौ १० गतेसम्ममा जवाफ पठाउने सीमा छ ।
पहिला पनि कारबाहीमा परेका थिए सिलवाल
२०७२ मंसिर १५ गते मादक पदार्थ सेवन गरी हुलहुज्जत गरेको आरोपमा महानगरीय प्रहरी आयुक्त कार्यालय काठमाडौँको रानीपोखरीमा प्रहरी नायब उपरीक्षकका रुपमा कार्यरत रहँदा राजकुमार सिलवाल निलम्बनमा परेका छन् । सिलवालले कमलादीस्थित एक रेस्टुराँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेका थिए । सिलवाललई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको थियो ।
‘मलाई केही थाहा छैन ?’
‘तपाईंमाथि केही गुनासो आएपछि मधेश प्रदेश प्रहरी कार्यालयबाट जवाफ मागिएको छ हो ?,’ मधेशदृष्टिले बिहीबार राति ९ बजेपछि सिलवालसँग फोनमा प्रतिक्रिया माग्दा उनको जवाफ थियो, ‘सोध्नेसँग पो प्रतिक्रिया लिने हो हजुर, मसँग होइन नि ?’






