उद्योग वाणिज्य संघको अध्यक्षको उम्मेदवारी शुल्क आधा लाख बढी ?

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
बजार खाली हुँदै छ । सटरहरु बन्द हुँदैछन् । व्यापारीहरु पलायन हुँदैछन् । उद्योग, व्यापार फस्टाउन नसकेर चेक बाउन्स, पलायन, आत्महत्या, डिप्रेसनदेखि अनेक रोगको सिकार, मुद्दामामला र बैंकको किस्ता तिर्न महँगो ब्याजमा ऋण खोज्नु पर्ने व्यापारीहरु नै बताउँछन् । तर यिनै व्यापारीहरुको चुनावमा भने भड्किलो प्रदर्शनी, महंगो खर्च मात्र छैन, उम्मेदवारी शुल्कसमेत आधालाख रुपैयाँ भन्दा पनि माथि राखिएको छ । केही उद्योगी व्यापारीले यसको विरोध गरेका छन् ।

प्रसंग हो, जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको । जहाँ उम्मेदवारी शुल्क धेरै भएको भन्दै व्यापारीहरुले आलोचना गरेका छन् । जनकपुरधाम नगरक्षेत्रको व्यापार, व्यवसाय धरासायी भइरहेको अवस्थामा उम्मेदवारी शुल्क चर्को राखिएपछि त्यसको आलोचना भइरहेको छ । निर्वाचन कार्यतालिकाका अनुसार शुक्रबार उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । तालिकाअनुसार उम्मेदवारहरुले बिहीबार आफनो मनोनयन पत्र लिने छन् भने शुक्रबार उम्मेदवारी दर्ता गराउने छन् ।

भदौ २९ गते हुने निर्वाचनका लागि अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महिला उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १, एसोसिएट सदस्य १, सम्बद्र्ध सदस्य १, कार्य समिति सदस्य ६, संगठित सदस्य २ जनाको निर्वाचन हुनेछ । जसअनुसार अध्यक्ष पदमा उम्मेदवारी शुल्क ५५ हजार रुपैयाँ, वरिष्ठ उपाध्यक्ष पदका लागि ५१ हजार रुपैयाँ, उपाध्यक्षका लागि ५० हजार रुपैयाँ, महिला उपाध्यक्षका लागि ३० हजार रुपैयाँ, महासचिवका लागि ४५ हजार रुपैयाँ, सचिवका लागि ४० हजार रुपैयाँ, कोषाध्यक्षका लागि ४० हजार रुपैयाँ, एसोसिएट सदस्यका लागि ४० हजार रुपैयाँ, संगठित सदस्यका लागि ४० हजार रुपैयाँ, सम्बद्र्ध सदस्यका लागि ४० हजार रुपैयाँ, कार्य समिति सदस्यका लागि २१ हजार रुपैयाँ र मतदाता नामावली शुल्क ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चर्को शुल्कका कारण साना व्यापारीले उम्मेदवार हुनबाट वञ्चित गराउने प्रयास गरिएको भन्दै यसको आलोचना भइरहेको छ । यता, निर्वाचन समिति संयोजक ललित साहले विगतको निर्वाचनमा शुल्क निर्धारण गरिएको र त्यसमा कुनै प्रकारले हेरफेर नगरिएको दाबी गरे । उनले निर्वाचनमा निकै खर्च हुने गरेका कारणसमेत त्यसलाई उम्मेदवारी दर्तालगायतको शुल्कबाट उठाउने गरिएको बताउँदै यसले समेत नपुगे अन्य स्रोतबाट व्यवस्थापन गरिने बताए । शुल्क धेरै नभएको उनको तर्क छ । उनले भने, ‘केन्द्रमा समेत यस्तै शुल्क रहने गरेकाले त्यसैलाई आधार मानेर शुल्क तोकिएको हो ।’

साहले उम्मेदवारको निर्वाचन शुल्क निर्धारणमा परम्परालाई नै निरन्तरता दिइएको दाबी गरे । जनक उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका निर्वाचन समितिका संयोजक साहले परम्परालाई ख्याल गर्दै शुल्क तोकिएको र आवश्यक शुल्क मात्रै लिइएको बताए । साहले यसपटक निर्वाचनलाई व्यवस्थित बनाउन आचारसंहितासमेत निर्माण गरिएकाले यसलाई कडाइका साथ पालना गराइने जानकारी दिए ।

तर स्थानीय व्यापारी, व्यवसायीले भने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य निर्वाचनदेखि विभिन्न सामाजिक संघसंस्थामा हुने गरेको निर्वाचनभन्दा पनि महंगो भएको भन्दै गुनासो गरेका छन् । व्यवसायीको हकहित, विकास, संरक्षण र संवद्र्धनका निम्ति स्थापना गरिएको उद्योग वाणिज्य संघले निर्वाचनलाई महंगो बनाएर साना तथा मझौला व्यवसायीलाई निर्वाचनमा सहभागी हुनबाट वञ्चित गर्न खोजिएको व्यवसायीको आरोप छ । जनकपुर उद्योग वाणिज्य संघमा ४ हजार ७५ मतदाता छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button