
मधेशदृष्टि
वीरगंज ।
समाचार लेखेकै आरोपमा वीरगंजमा क्रियाशील पत्रकार जियालाल साहलाई धम्की आएपछि नेपाल पत्रकार महासंघ पर्साले विरोध गरेको छ ।
‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको’ शीर्षकमा समाचार लेखेपछि असन्तुष्ट पक्षले उनलाई सार्वजनिक बेइज्जती साथै धम्की दिएको साहले बताए ।
पत्रकार साहले धम्कीको लिखित जानकारी नेपाल पत्रकार महासंघ पर्सालाई गराएका छन् । महासंघले समाचार लेखेकै कारण सामाजिक सञ्जालमार्फत दिइएको धम्की र मानसिक दबाबप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ पर्साका सचिव विजय कुमार महतोले जारी गरेको प्रेस विज्ञप्तिमा सिधा कुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित समाचारलाई लिएर पत्रकार साहलाई लक्षित गर्दै धम्कीपूर्ण गतिविधि भएको उल्लेख गरिएको छ ।
साहले केही दिन अगाडि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको’ भन्ने विषय समाचार लेखेका थिए ।
महासङ्घले प्रकाशित समाचारप्रति कुनै असन्तोष भए कानूनी उपचारको बाटो अपनाउनुपर्नेमा सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यममाथि प्रहार भएको ठहर गरेको छ । विगत केही समयदेखि सञ्चारकर्मीप्रति देखिएका विभिन्न प्रकारका धम्की र दुर्व्यवहारले लोकतन्त्रको पक्षमा उभिएका सञ्चारकर्मीमाथि असुरक्षा सिर्जना गरेको महासङ्घको भनाइ छ ।







