
मधेशदृष्टि
वीरगंज ।
पर्साको बहुदरमाइ नगरपालिकामा कर्मचारीले जनप्रतिनिधिलाई बेवास्ता गर्दै आफूखुशी आर्थिक खर्च गरेको पाइएको छ ।
नगरपालिकामा आएको दुई वर्ष पुगेका प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तफाले मेयर र उपमेयरलाई बेवास्ता गर्दै आफूखुशी अधिकार दुरुपयोग गरेर अनियमितता गरेका हुन् ।
मेयर सिंगासन सा तेलीले आर्थिक अधिकार नदिएको र मेयरकै कारण सामाजिक सुरक्षा भत्तासमेत वितरण हुन नसकेको भन्दै सस्तो प्रचारबाजीमा उत्रिएका प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले आफूनिकटहरुलाई खुशी बनाउन भनेर विज्ञापन र इन्धनको कुपन दिएर मेयर तथा उपमेयरविरुद्ध पनि प्रचारबाजी गराउने काममा राज्यशक्ति दुरुपयोग गरेको पाइएको छ ।
नगरपालिका स्रोतका अनुसार, प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले पछिल्लो ३ महिनामा ३ हजार ४ सय ४६ लिटर इन्धनको कुपन आफूनिकटका र पर्साका उनका पक्षमा समाचार लेख्ने पत्रकारहरुलाई बाँडेका छन् । उनले आफ्नो पक्षमा खुलेर सहयोग गर्ने कर्मचारीलाई यस्तो कुपन बाँडेका छन् । यस्तै, आर्थिक अधिकार नपाएपछि प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले गाडी मर्मतका नाममा पनि कमाउधन्दा चलाएको पाइएको छ । गाडी मर्मतका नाममा उनले गरेको बदमासी गरेको सूचना मधेशदृष्टि दैनिकले प्राप्त गरेको छ ।
उनले आफन्तकहाँ गाडी मर्मत गराएको भन्दै ममर्त खर्चबापत १० लाख ११ हजार १ सय ६९ रुपैयाँको बिल नगरपालिकामा पेश गरेका छन् । कात्तिक ८ गते मात्रै नगरपरिषद भएको बहुदरमाइ नगरपालिकामा अधिकृत मुस्तफाले मेयर तेलीसँग दूरी बढाएपछि उनले मेयरबाट आर्थिक अधिकार पाएका छैनन् ।
बजेट कमिसनमुखी बनेको, आर्थिक अधिकार लिएर यस्ता योजनामा सम्झौताका लागि प्रमुख प्रशासकीय अधिकृत मुस्तफा हतारिएको र दुई वर्ष पूरा भएकाले कुनै पनि बेला सरुवा भएर जाँदा सम्झौता भएका योजना कार्यान्वयन नभए नगरपालिका समस्यामा पर्न सक्ने भन्दै मेयर तेलीले उनलाई आर्थिक अधिकार नदिएको मेयर स्रोतको दाबी छ ।






