वर्ल्ड रेकर्ड बनाउँदै वीरगंज महानगर: १० हजार किशोरीलाई आत्मरक्षा तालिम

[mashshare]

वीरगंज महानगरपालिकाभित्रका कक्षा ६ देखि १२ सम्मका १० हजार भन्दा बढी किशोरीलाई एकसाथ आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएको इतिहास निर्माण पनि महानगरको लक्ष्य भएकाले सबैको सहयोग अपेक्षा गर्दछु ।
–राजेशमान सिंह
प्रमुख, वीरगंज महानगरपालिका

मधेशदृष्टि
वीरगंज ।

वीरगंज महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाका लागि बुधबार तालिम दिन लागेको छ । यो किशोरीलाई औपचारिक प्रशिक्षण मात्र नभएर महानगरको महत्वाकांक्षी योजना पनि हो । महानगरभित्रका कक्षा ६ देखि १२ सम्मका छात्रालाई तालिम दिन लागिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

बुधबार बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायिक, निजी विद्यालय र कलेजका १० हजार बढी छात्राको सहभागिता रहने उनले बताए । एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीसमेत भएको उनले जानकारी गराए ।

यो तालिम सफलरुपमा सम्पन्न भए वीरगंजको नाम अन्तर्राष्ट्रियरुपमा चर्चित हुने भएकाले आमनगरबासीलाई कार्यक्रम सफल पार्न उनले आग्रह गरे । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टीलाई बोलाएर सहभागीलाई प्रशिक्षण दिन लागिएको महानगरका उपप्रमुख इम्तियाज आलमले जानकारी दिए ।

आदर्शनगर रंगशालामा हुने प्रशिक्षणको सम्पूर्ण तयारी भइसकेको र छात्रा ल्याउने लैजाने व्यवस्थासहित सुरक्षाको व्यवस्था मिलाइसकिएको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए । भारतबाट आएका प्रशिक्षक शेट्टी अभिनेता, निर्देशक, निर्माता, मार्शल आर्टिस्ट र फिटनेस प्रशिक्षक हुन् । ख्यातिप्राप्त प्रशिक्षकद्वारा दिइने तालिमले छात्रा (किशोरी) आत्मरक्षाका लागि सक्षम हुने विश्वास नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैधले व्यक्त गरे ।

पत्रकार सम्मेलनमा प्रशिक्षक शेट्टीले आफू नेपालका छात्रालाई प्रशिक्षण दिन आउन पाउँदा खुसी लागेको बताए । बुधबार हुन लागेको प्रशिक्षणलाई व्यवस्थित बनाउन महिला स्वयम्सेवीहरु खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button