मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम् डिआइजी यज्ञविनोद पोखरेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन शुरु गरेको छ । डिआइजी पोखरेलको खातामा अस्वाभाविक रकम देखिएपछि केन्द्रीय कार्यालयले छानबिन शुरु गरेको हो ।
नेपाल प्रहरीका सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको अवस्थामा शुरुमै डिआइजी पोखरेल कारबाहीको भागिदार हुने अवस्थामा पुगेका हुन् । डिआइजी पोखरेलका विषयमा छानबिनक्रममनै मधेश प्रदेशका नौ र कोशी प्रदेशका एकसहित १० प्रहरी अधिकारी बयानका लागि तानिएका छन् । छानबिन समितिले उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा तानेको छ ।
प्रहरी स्रोतका अनुसार सीमा प्रहरी चौकी दुहबी, धनुषाका सई चन्द्र प्रसाद यादव, प्रहरी चौकी मोहवा, सप्तरीका असई उपेन्द्र प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ हवल्दार निरजकुमार साह, जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार बच्चेलाल यादव, इलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्र प्रसाद कुर्मी, प्रहरी चौकी जनकपुरधामका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका सहायक हवल्दार ईश्वर अच्छामी, प्रहरी चौकी कपिलेश्वर,धनुषाका सहायक हवल्दार मुकुन्द शर्मा र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी जवान सतेश लाल कायस्थसहित इलाका प्रहरी कार्यालय बालांखा भोजपुरका हवल्दार बृजेश मुखिया छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
यस्तै, डिआइजी पोखरेलमाथि भइरहेको छानबिनक्रममा जनकपुरबाट एकजना बिचौलिया पनि पक्राउ परेका छन् । डिआइजी पोखरेलले बिचौलिया जितेन्द्र कर्णमार्फत लेनदेन गरेको भेटिएको प्रहरी प्रधान कार्यालयको दाबी छ । डिआइजी पोखरेलसँग साँठगाँठ गरी लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेश झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ पुर्याएको छ ।