‘हाम्रो मायाघर’ सामाजिक अभियानमा सबैको साथसहयोग छ: हीरा गौतम

[mashshare]

सडक मानव आश्रम अर्थात् हाम्रो मायाको घरको निर्माणका लागि महोत्तरीको बर्दिवासमा शिव महापुराण महायज्ञ भइरहेको छ । विशेष सामाजिक अभियानलाई मूर्त रुप दिन कथावाचिका राधिका दासीले कथा वाचन गरेर श्रोतालाई आनन्दित बनाइरहनु भएको छ भने श्रद्धालुले दिने गरेको दान भेटीका कारण आयोजक निकै उत्साहित भएका छन् । महायज्ञ मूल समितिका अध्यक्ष हीरा गौतमले मधेशदृष्टिका वीरेन्द्र रमणसँग गरेको कुराकानीको सम्पादित अंशः

अध्यात्ले व्यक्तिलाई मनको शान्ति दिन्छ, यस किसिमको सामाजिक कार्यले तन र मनको शान्ति दिन्छ । यो अभियानको विषयमा कसरी विचार आयो ?
शिवपुराण महायज्ञ लगाएर हाम्रो मायाघर निर्माण गर्ने उद्देश्य हामीले तीन वर्ष अगाडिदेखि नै बोकेका थियौँ । समाजमा रहेका मानवलाई त्यतिकै छतविहीन हुँदाको पीडा र यसलाई निर्माण गरेर मानवलाई हामीले त्यहाँ राखेर उनीहरुको सेवा सत्कार गरौँ भन्ने सोचका साथ केही वर्षदेखि छलफल गर्दै आएका थियौँ । अहिले राज्यको अवस्था पनि त्यस्तै छ । त्यसकारण हामी सबै मिलेर केही न केही योगदान ग्रियो भने त्यो सार्थक बन्छ भन्ने सोचका साथ अगाडि बढियो । यो संस्थाको संस्थापक पनि राधिका दासी हुनुुहन्छ । त्यसकारण हामीले सबैको साथसहयोगबाट उत्साहित भएपछि यस अभियानलाई मूर्त रुप दिन अगाडि बढियो । महायज्ञबाट आएको रकमलाई समेत यसमै प्रयोग गर्ने गरी कार्य अगाडि बढायौँ । राधिका दासीले पनि माया घर बन्छ भने म निःशुल्क रुपमा वाचन गरिदिन्छु भनेपछि हामीले थप उत्साहित भएर अभियान अगाडि बढायौँ । यसबाट आएको आर्थिक स्रोतले समेत यस अभियानलाई अगाडि बढ्न बल पुर्याएको छ ।

तपाईं होटल व्यवसायी, व्यापारी घाटा नाफाको सौदा गर्छ भन्छन्, तपाईं व्यापारी भएर सामाजिक अभियानतिर कसरी लाग्नु भो ?
२३ वर्षदेखि गौतम होटलको सञ्चालन र व्यवस्थापन गर्दै आएको छु । तर सँगै आफ्नो गाउँठाउँमा बस्दा सामाजिकरुपमा समेत केही न केही योगदान दिनुपर्छ भन्ने मेरो मान्यता हो । त्यस मान्यताको आधारमा मैले समाजिक क्षेत्रमा हुने रहेक काममा आफू भागिदार हुनुपर्छ भन्ने सोचका साथ केही न केही योगदान गरिरहेको छु । खास गरेर मुसहर बस्तीको उत्थानको कुरा होस् वा बर्दिबास सेवा समिति छ, त्यहाँ पनि मैले केही सहयोग गरेको छु । अर्थात् सामाजिक रुपान्तरणका लागि हुने हरेक अभियानमा मेरो साथ सहयोग छ । हो, व्यापार जीविकोपार्जनका लागि हो भने सामाजिक काम आत्मसन्तुष्टिका लागि छ । त्यसकारण व्यापारका साथै सामाजिक कामलाई समेत अगाडि बढाएको छु । सामाजिक कार्यमा हात हाल्दा खुशी र सन्तुष्टि पनि मिल्छ, त्यसकारण हरेक सामाजिक काममा मेरो योगदान रहने गरेको छ ।

हाम्रो मायाघरका लागि जग्गा व्यवस्थापन भएको छ कि छैन ?
मायाघरका लागि अहिलेसम्म साढे पाँच कठ्ठा जग्गा उपलब्ध भइसकेको छ । कम्पाउन्डको घेराबेरा लगाउने कार्यसमेत पूरा भइसकेको छ । घर बनाउन डिपिआरसमेत तयार भइसकेको छ । हामीले रकम संकलन गर्न सकियो भने तत्कालै शिलान्यास गरेर काम अगाडि बढाउन थाल्छौँ । मायाघरको लागत पौने ११ करोड रुपैयाँ छ । दुई वटा ब्लक छ, जसमा एउटा चार तलाको घर छ अर्को दुई तलाको घर छ । मन्दिरसहित आवश्यक पूर्वाधार राखिएको छ । हामीले यो शिव महापुराणबाट १ करोड देखि १ करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ । त्यो संकलन भएपछि हामीले काम शुरु गर्छौँ । पछि प्रदेशका सांसददेखि संघीय सांसद, स्थानीय निकाय र विभिन्न व्यक्तिसँग फेरि सहयोग लिने दिन आउँछ । उहाहरुसँग छलफल भएको छ । उहाँहरु सकारात्मक हुनुहुन्छ । हामीले तत्काल काम शुरुवात गर्छौँ, विस्तारै त्यो काम अगाडि बढ्छ । सहयोगसमेत जुट्दै जानेछ ।

माया घरमा कस्ता मानिसहरुलाई आश्रय हुनेछ ?
खास गरेर सडकमा अलपत्र परेका बच्चा मात्रै होइन, ठूलो मान्छेदेखि लिएर वृद्धवद्धा सबैलाई राख्ने व्यवस्था गरेका छौँ । समग्रमा भन्नुपर्दा सडकमा रहेकालाई राख्नेछौँ । कतिपयको मानसिक सन्तुलन ठीक नभएर सडकमा हुन्छन्, उनीहरु सबैलाई राखेर सेवा गर्छौँ । कतिपयलाई स्वास्थ्यमा समस्या हुन्छ, उनीहरुलाई समेत राखेर स्वास्थ्य उपचार गर्छौँ, अर्थात् अलपत्र परेकालाई यहाँ राख्ने छौँ । खास गरेर यो अभियान पवित्र उद्देश्य राखेर गरिएका कारण सबैतिरबाट निकै सहयोग पाइएको छ । राधिका दासीले अरु ठाउँमा कथा वाचन गर्दा त्यसको शुल्क लिनुहुन्छ, हामीकहाँ त्यो निःशुल्क गर्नुभएको छ । अर्कातर्फ कथा श्रवण गर्नेहरुसमेत भारतदेखि पनि आउनु भएको छ । नेपालको विभिन्न स्थानबाट समेत आउनु भएको छ । उहाँहरुले हाम्रो अभियानलाई साथसहयोगसमेत दिनु भएको छ । यहाँ गरिने दानबाट समेत हामी निकै उत्साहित भएर यो अभियानले सार्थक रुप लिन्छ भन्नेमा आशावादी मात्रै होइन, हामी निकै उत्साहित भएका छौँ । त्यसकारण सबैको साथ सहयोग छ, सबैको साथ सहयोग पाएपछि अभियान सफल हुन्छ भन्नेमा ढुक्क छौँ ।

महायज्ञबाट ‘हाम्रो मायाघर’लाई ९३ लाख जुट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button