टाँगामा ५ कार्टुन, ट्रान्सपोर्टमा ५ करोडको भेप

[mashshare]

वीरगंज महानगरपालिका वडा नम्बर ६, रेल्वेरोड निवासी राम प्रसाद बैरेको घरमा भाडामा बस्दै आएका भारत, बिहारका सुदामा प्रसादले अनधिकृतरूपमा भण्डारण गरी राखेको ४ करोड ८६ लाख रुपैयाँ भन्दा बढी मूल्यको १५ हजार २ सय पिस भेप बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

मधेशदृष्टि
वीरगंज ।
मितिः २०८१ साउन २५ गते ।
समयः बिहान ११ बजे
स्थानः सीमानजिक रजत जयन्ती चोक
सामानः टाँगामा शंकास्पद सामान ५ कार्टुन
शुक्रबार बिहान ११ बजेतिर सीमानजिकै रजत जयन्ती चोकमा एउटा टाँगामा भेटिएको सामानमा प्रहरीले सोधपुछ गर्यो । सोधपुछ गर्दागर्दै सामान ल्याउने भागिहाले । टाँगामा रहेको शंकास्पद ५ कार्टुन सामान के हो भन्ने बुझ्दा यो त ठूलै तस्करीको जालोको कारोबार भन्ने बुझ्न प्रहरीलाई समय लागेन । टाँगामा राखेर कार्टुनमा ओसारपसार भइरहेको सामान कानूनमै वर्जित रहेको इलेक्ट्रिक भेप भएको भेटियो ।

यही भेपको सोधिखोजी गर्दा कल्पना गरिए भन्दा ठूलो उपलब्धी हात लाग्यो पर्सा प्रहरीलाई । खोजी गर्दै जाँदा ७६ कार्टुन इलेक्ट्रोनिक भेप भेटियो । त्यतिमात्र होइन, भेप गोदामै प्रहरी पुग्यो । पत्याउनै नसकिने गरी कानूनमै वर्जित रहेको इलेक्ट्रिक भेप ट्रान्सपोर्टबाटै ओसारपसार अनि वीरगंजमा गोदाम गरेर राखेको भेटियो त्यो पनि ४ करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको ।

वीरगंज महानगरपालिका वडा नम्बर ६, रेल्वेरोड निवासी राम प्रसाद बैरेको घरमा भाडामा बस्दै आएका भारत, बिहारका सुदामा प्रसादले अनधिकृतरूपमा भण्डारण गरी राखेको १५ हजार २ सय पिस भेप बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार ७६ कार्टुनमा प्रतिकार्टुन २ सय पिसका दरले १५ हजार २ सय पिस भेप बरामद भएको हो ।

पर्सा प्रहरीले पहिलोपटक वीरगंजबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको हो । प्रहरीले रेल्वे रोडस्थित डाँफे ट्रान्सपोर्टमा छापा मारेर भेप बरामद गरेको हो । कानूननै वर्जित रहेको भेपको कारोबारी भने भारतीय भएको फेला परेको छ । पर्सा प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button