
एजेन्सी
बंगलादेश ।
विद्यार्थी आन्दोलनको दबाब थाम्न नसकेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर देश छाडेपछि देश सेनाले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारी भने प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेर तोडफोडमा उत्रिएका छन् । रिक्तता र अशान्तिपूर्ण अवस्था नियन्त्रणमा लिन सेनाले संयमता अपनाउँदै अन्तरिम सरकार गठनको तयारी गरेको छ ।
सेना प्रमुख जनरल वाकर उज जमानले देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठन आह्वान गरेका छन् । तत्काल संकटकाल घोषणा नगर्ने र शान्ति स्थापना गर्ने बताउँदै सेना प्रमुखले आफूहरुलाई केही समय दिन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।
अघिल्लो महिना शुरु भएको आरक्षणविरोधी आन्दोलनले प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको हो । आन्दोलनमा ३ सय भन्दा बढीको मृत्यु भएको छ । सन २००९ देखि मुलुकमा शासन गरिरहेकी ७६ वर्षीया हसिनाको सत्ता ढलेको हो । उनी भागेर भारत आएकी छिन् । २०२४ जनवरी ७ मा चौथोपटक लगातार चुनाव जितेर सत्तामा पकड बलियो बनाएकी हसिना ७ महिना नबित्दै देश छाडेर भाग्नु परेको हो । बंगलादेशी सेना १ सय ४५ देशमध्ये ३७ औँ स्थानमा छ र १ लाख ७५ हजार सक्रिय सैनिक छन् ।
सेनासँग २ सय ८१ ट्याङ्क, १३ हजार १ सय बख्तरबन्द वाहन, ३० थान स्वचालित तोपखाना, ३ सय ७० थान टो आर्टिलरी, ७० थान रकेट आर्टिलरी छ । जलसेनामा ३० हजार सदस्य छन् । दक्षिण एसियामा भारत र पाकिस्तानपछि तेस्रो ठूलो रक्षा बजेट हुने देश बंगलादेश हो । वर्षेनि रक्षा क्षेत्रमा ३ अर्ब ८० करोड डलर खर्च गर्ने गरेको छ । बंगलादेशका सेना प्रमुख जनरल वकार–उज–जमान सन् २०२४ को जुनदेखि पदमा छन् । १९८५ को डिसेम्बर २० मा उनी सेनामा छिरेका थिए ।
नेपालीलाई सुरक्षित रहन आग्रह
बंगलादेशस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई शतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा जारी आन्दोलन हिंसात्मक बन्न थालेपछि दूतावासले सूचना जारी गरेर नेपालीलाई सुरक्षित रहन अनुरोध गरेको छ । बंगलादेशमा ४ सय नेपाली छन् । अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकासँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
विमानस्थल ६ घण्टालाई बन्द
बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द गरिएको छ । बंगलादेशी सेनाको जनसम्पर्क निर्देशनालयले सूचना जारी गरी ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला सोमबार साँझ ६ बजेदेखि बन्द भएको जानकारी दिएको हो । विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि धेरै मानिस विमानस्थल जान थालेपछि सेनाले विमानस्थल बन्द गरेको हो ।
लेबनानमा नेपालीहरु सुरक्षित
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा बढेको तनावसँगै त्यहाँ रहेका नेपाली समुदाय हालसम्म सुरक्षित रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ । मन्त्रालयले सोमबार सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि सरकार सचेत रहेको जनाएको हो । मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नसमेत सूचनामार्फत जानकारी दिएको छ । अहिले कायरोस्थित नेपाली राजदूतावासले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गरिरहेकोसमेत जनाएको छ । इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव बढेको हो ।
नेपाली सीमाक्षेत्रमा सुरक्षा कडाइ
बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा शतर्कता बढाएको छ । सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अवस्था तनावग्रस्त बन्दै गएपछि पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् । नेपालको कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरी फौजको समेत संख्या बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘बंगलादेशमा बढेको तनावसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप शतर्कता र सुरक्षा बढाएको छ ।
विशेषगरी कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा फौजको संख्या समेत बढाइएको छ । सीमा क्षेत्रमा चेकजाँच र गस्ती पट्रोल र निगरानी समेत बढाइएको छ,’ उनले भने । भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको छ ।






