एसपीसहित २३५ प्रहरी कारबाहीमा

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
गत आर्थिक वर्षमा मधेश प्रदेशमा प्रहरीको आचरण, नीति र नियमविपरीत काम गर्ने एसपीसहित २ सय ३५ प्रहरी कर्मचारी कारबाहीमा परेका छन । आर्थिक वर्ष २०८०–८१ मा एक प्रहरी उपरीक्षक, दुई प्रहरी नायब उपरीक्षक, २ प्रहरी निरीक्षकसहित २ सय ३५ प्रहरी विभागीय कारबाहीमा परेका हुन् ।

यस्तै, ४ प्रहरी वरिष्ठ नायव निरीक्षक, ५ प्रहरी नायब निरीक्षक, २५ प्रहरी सहायक निरीक्षक, १० प्रहरी वरिष्ठ हबल्दार, ३३ प्रहरी हबल्दार, ५५ प्रहरी सहायक हबल्दार, ९६ प्रहरी जवान र २ प्रहरी कार्यालय सहयोगीलाई विभागिय कारबाही गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीका अनुसार मधेश प्रदेशमा पछिल्लो ६ आर्थिक वर्षमा आचरणविपरीत काम गर्ने २ एसपी र ६ डिएसपीसहित १ हजार ४ सय ५५ प्रहरीलाई विभागीय कारबाही गरिएको छ ।

मधेशमा पदीय मर्यादाविपरीत काम गर्ने प्रहरीलाई कारबाही गरिएको छ भने उत्कृष्ट काम गर्ने १ प्रहरी वरिष्ठ उपरीक्षकसहित ९ सय ५३ प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिएको नेपाल प्रहरीले जनाएको छ । राम्रोसँग अनुसन्धान गर्ने, तोकिएको ठाउँमा जिम्मेवारीपूर्वक काम गर्ने, अनुसन्धानमा सफल एक प्रहरी वरिष्ठ उपरीक्षक, ११ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ७१ प्रहरी निरीक्षक, ४१ प्रहरी वरिष्ठ नायब निरीक्षक, ४४ प्रहरी नायब निरीक्षक, १ सय ३९ प्रहरी सहायक निरीक्षकलाई पुरस्कृत गरिएको छ ।

यस्तै, ५४ प्रहरी वरिष्ठ हबल्दार, १ सय ३६ प्रहरी हबल्दार, १ सय ६९ प्रहरी सहायक हबल्दार, २ सय ४७ प्रहरी जवान र १९ कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । यसअघि आव २०७९–८० मा ८ सय ३९ प्रहरी कर्मचारी पुरस्कृत भएका थिए । पछिल्लो ६ आर्थिक वर्षमा मधेश प्रदेशका जिल्लामा कार्यरत १६ प्रहरी वरिष्ठ उपरीक्षकसहित ४ हजार ४ सय ७० प्रहरी कर्मचारी पुरस्कृत भएको नेपाल प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button