
मधेशदृष्टि
राजविराज ।
राजविराज नगरपालिका–७ का १३ वर्षीय नाबालकसँग राजविराजस्थित रामअशिष साहले सञ्चालन गरेको वैभव लक्ष्मी ज्वेलर्सले ३० तोला सुनका गरगहना ८ लाख रुपैयाँमा किनेको खुलासा भएको छ । घटना बाहिर आएपछि सुन फिर्ता गरेर मिलापत्र गराइएको हो । ज्वेलर्सको सडक पारी दक्षिणतर्फ आमनेसामने रहेको घरका नाबालकले ल्याएको गरगहना कम मूल्यमै किनेर ठगी गरेको घटना प्रहरीमा नपुग्दै मिलापत्र गराइएपछि यसले राजविराज बजारमा चर्चा पाएको छ ।
अभिभावक उपचारका लागि भारतमा हुँदा नाबालकले पटकपटक सुनका गरगहना ज्वेलर्समा लगेका थिए । ज्वेलर्सका अमर साहले नाबालकलाई थोरै रकम दिँदै गरगहना किनेको पाइएको हो । तर यो घटनालाई स्थानीय शक्तिकेन्द्रहरुको जोडबलमा जबर्जस्त मिलाइएको छ । ‘सामान्य झैझगडा मिलापत्र गराउनु गलत होइन तर अपराध नै मिलाउने काम भयो र कानूनी राज्यको खिल्ली उडाउने काम भयो,’ स्रोतले भन्यो, ‘आपराधिक क्रियाकलापमा सरिक रहेका व्यवसायीलाई कानूनी दायरामा नल्याउनु स्थानीय प्रहरी प्रशासनले अपराध गर्न मनोबल प्रदान गर्नु हो ।’
मारवाडी समुदायका नाबालकसँग लाखौँ मूल्यको सुन खरिद गर्ने वैभव ज्वेलर्ससँग स्थानीय ठूलो समूहले मिलापत्र गराएको पाइएको छ । मिलापत्र गराउनेमा व्यवसायीको नेतृत्व गर्ने र मारवाडी समुदायकासमेत भएकाले सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवालको प्रत्यक्ष सहभागिता देखिएको छ ।
अध्यक्ष अग्रवालले मिलापत्र भइसकेको घटनालाई कोट्याउन जरुरी नभएको बताउने गरेका छन् । उनले मिलापत्र गराएर गल्ती नगरेको दाबी गर्दै पीडितलाई क्षतिपूर्ति दिलाउन पनि पहल भएको बताए । मिलापत्रपछि ३० तोला सुन फिर्ता भएको छ भने पीडितले ३५ तोला बेचिएको दाबी गर्दै आएको छ । सबै सुनको जम्मा ८ लाख रुपैयाँ मात्र दिइएको थियो । ज्वलेर्स सञ्चालक रामअषिशले घटना सामाजिकस्तरबाट मिलापत्र गरिएको र बच्चाहरुबाट गल्ती भएकाले सुन फिर्ता गरिएको बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले यो घटनाबारे प्रहरीमा निवेदन नआएको बताए ।






