
मधेशदृष्टि
वीरगंज ।
तपाईंलाई थाहै छ, पर्साका सांसदहरु अति भाग्यमानी छन् । सरकारले बनाएको २२ सदस्यीय मन्त्रिमण्डलमा पर्साका ३ जना मन्त्री छन् । मधेश प्रदेशका ८ जिल्लाबाट ६ जना मन्त्री बन्दा पर्साबाट मात्र ३ जना सांसद मन्त्री बने भने यो भन्दा खुशीको कुरा भोट हाल्नेलाई के होला ? आफूले जिताएका सबै मन्त्री भएका छन् । पर्सा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २, क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसदहरु प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता मन्त्री भएका छन् । उसो त यसअघि पनि प्रदीप यादव र क्षेत्र नम्बर ४ का सांसद रमेश रिजाल मन्त्री थिए । यसैले केन्द्र सरकारमा मधेश र अझ पर्साका सांसदहरु मन्त्री बन्न पाइरहनु ठूलै उपलब्धी हो ।
तर यति धेरै मन्त्री उत्पादन हुने पर्सामा एउटा पुल भने १३ वर्षदेखि अधुरै रहँदा सामाजिक सञ्जालमा मन्त्रीहरुको तस्बिर र अधुरो पुलको तस्बिर राखेर नागरिक आलोचना गरिरहेका छन् । त्यो पुल हो भलुवाही पुल । जीतपुर–रङ्गपुर–शङ्करसरैया अर्थात् पटेर्वासुगौली र जीराभवानीको दोसाँध भएर बग्ने भलुवाही खोलामा १३ वर्षअघि शुरु भएको पुलको अवस्था यस्तो छ । यो बीचमा पर्साले मन्त्री मात्र पाएन, मधेश प्रदेशको मुख्यमन्त्री, प्रदेश सरकारमा पटकपटक मन्त्री र राज्यमन्त्री पनि पाएको छ । तर आर्थिक वर्ष २०६७–६८ मा सडक डिभिजन कार्यालयले निर्माण शुरु गरेको ६० मिटर लामो पुल अस्थिपञ्जर बनेर पर्साको नेतृत्वलाई जिस्क्याइरहेको छ, जनताको दुःखमा शासकहरु गम्भीर छैन भन्ने सन्देश दिइरहेको छ ।
६० मिटर स्पान थपेपछि पुल सञ्चालनमा आउन सक्ने देखिएको छ । त्यतिखेर नदीको बहाव क्षेत्र कम हुँदा पुल निर्माण लागत कम गरिएको थियो । एक करोड ४० लाख रुपैयाँको लागतमा निर्माण गर्ने भनिएको पुलका ठेकेदार कम्पनी पनि वीरगंजकै रामाकान्त चौरसियाको मोना कन्स्ट्रक्सन हो र कम्पनीले भुक्तानी पनि पाइसकेको छ । तर पुल बनेपछि दुवैपट्टि रहेको एप्रोच सडक बाढीले बगाएपछि आवतजावत बन्द हुँदा पुलको हुलिया यस्तो भएको हो । पुल पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, ठोरी, जगरनाथपुरलगायतका बासिन्दाका लागि निर्माण गरिएको हो । तर पुल सञ्चालनमा नआएपछि स्थानीय खोला तर्न बाध्य छन् ।
स्थानीयले पटकपटक पुल सञ्चालनका लागि पर्साका राजनीतिक दल, मन्त्री, सांसद, प्रदेश सांसदको ध्यानाकर्षण गराएका हुन् । तर चुनाव जितेपछि सुनवाइ कहाँ हुन्छ र ? तर यसपटक पर्साले ३ जना मन्त्री पाउँदा फेरि पुलको तस्बिरले फेसबुकलगायतका सामाजिक सञ्जालमा ठाउँ पाएको छ । नागरिकले मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । पर्साको धेरै गाउँपालिका जोड्ने पुल सञ्चालनमा आउला कि ? ठोरी, जीराभवानी, पटेर्वा सुगौली, जगरनाथपुर र सखुवाप्रसौनी गाउँपालिका जोड्ने पुल सञ्चालनका लागि जनताले आवाज उठाइरहेका छन् । तर चुनाव आउन अझै ३ वर्ष बाँकी भएकाले र सरकार कतिखेर ढल्छ अनि नयाँ बन्छ भन्ने मन्त्रीहरुलाई पनि थाहा नहुने भएकाले भलुवाही पुलले मन्त्रीको अनुहार देख्ने र पुल सञ्चालनका लागि मन्त्रीहरुले निर्णय लेख्ने कहिले हो, प्रश्न १३ वर्षदेखि उत्तर खोजिरहेको छ । जबकि भन्नलाई भन्छन्, ‘१२ वर्षमा खोला फर्कन्छ ।’ १२ वर्षमा खोला त फर्कन्छ भने गाउँको विकास गर्छु भनेर भोट माग्ने र जित्ने नेताहरुको मन किन फर्कन्न ?






