कस्ता छन् हाम्रा मन्त्रीहरु ?

[mashshare]

मधेशदृष्टि डेक्स
वीरगंज ।
शेयर बजारका चम्किला तारा
असार १८ गते सेयरबजार खुल्नुपूर्वको १५ मिनेटको ‘प्रि–ओपन सेसन’मा २३ अंकले नेप्से बढ्यो । त्यसलगत्तै खुलेको बजारमा तीन पटकसम्म सकारात्मक सर्किट लाग्यो । एक मिनेटको समयमा सर्किट लेभलमा पुगेको नेप्से अर्को ३ मिनेटको कारोबारबाट १०८ अंकले बढ्न पुग्यो । अघिल्लो दिन १५ अंकले बढेको बजारअघिका ८ दिन राताम्मे थिए । १७ गते राताम्मे बजारले करेक्सन मात्र लिएको आम बुझाइ थियो । त्यही दिन मौजुदा सत्ता समीकरण बदलिने निश्चित भयो । अर्थात् नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धनको सहमति भयो । संसदका दुई ठूला दल मिलेर नयाँ सरकार बन्ने पक्कापक्की देखिएपछि एमालेले पुनः अर्थमन्त्रीमा विष्णु पौडेललाई ल्याउने चर्चा चल्यो । बदलिँदो राजनीतिक समीकरणको माहोललाई भोलिपल्टै अर्थात् १८ गते सेयरबजारले सकारात्मक रुपमा लियो । पौडेल अर्थमन्त्री बन्ने खबरसँगै बजारमा नेप्सेले तीन पटकसम्म सकारात्मक सर्किट मा¥यो । बजारमा विष्णु पौडेललाई लिएर सकारात्मक सर्किट लागेको यो पहिलो पटक होइन । उनलाई सेयरबजारले पटक–पटक ‘बुल ब्रान्ड’ बनाएको तथ्य विगतको कारोबारमा देखिन्छ । जब अर्थ मन्त्रालयमा उनको इन्ट्री हुन्छ वा हुने सम्भावना प्रबल देखिन्छ तब सेयरबजारले सर्किट मात्रै हान्दैन, लगातार बढ्छ पनि । यो विगतदेखिकै ट्रेन्ड हो । नेकपा एमालेका उपाध्यक्ष पौडेलले अर्थमन्त्रीको रुपमा तीन कार्यकाल बिताइसकेका छन् । उनी अर्थमन्त्री रहेका समयमा सेयरबजार बुलिस (नेप्से सूचक क्रमशः बढिरहनु) ट्रेन्डमा रहेको थियो । उनी पाँचौँपटक मन्त्री भएका हुन् ।

व्यापारी मन्त्री
राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित गुप्ता सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका हुन् । पर्साको तत्कालीन भौराटार–६ मा २०२७ चैत २० गते जन्मिएका गुप्ता वीरगंज–११ श्रीपुर निवासी हुन् । वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन गरेका गुप्ता राजनीतिसँगै व्यापार पनि गर्छन् । २०४२ देखि अखिलबाट राजनीति सुरू गरेका राजकुमारले विस. २०५१ मा युवा संघको विभिन्न पदमा काम गरेका थिए । एमालेको जिल्ला सदस्य हुँदै उनी विस. २०६६ मा पर्सा क्षेत्र नम्बर ३ को अध्यक्ष बने । लोकतान्त्रिक मधेशी संगठनको केन्द्रीय महासचिव हुँदै चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । संसदीय राजनीतिमा पहिलो पटक उनी मन्त्री बनेका हुन् । उनी २०७० को दोस्रो संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए । २०७९को संसदीय चुनाव जितेका उनी यसपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीयता कार्यान्वयन र कर्मचारी प्रशासन मामिला हेर्ने मन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

माला–खादा नलगाउने मन्त्री
नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुभकामना दिँदा माला, खादा नभई स्वास्थ्य क्षेत्र सुधारका सुझाव दिन आग्रह गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएपछि मन्त्रालय पुगेका पौडेलले माला र खादा लगाउन अस्वीकार गरेका हुन् ।
‘बधाइ दिन आउनु हुने सम्पूर्णप्रति मेरो सम्मान छ । यहाँहरुको सल्लाह सुझाव मैले विभिन्न रूपबाट लिने नै छु,’ उनले भनेका छन्, ‘शुभकामना दिन आउनुहुने सबैमा माला, खादा, उपहार जस्ता चिज नल्याइदिनु हुन अनुरोध गर्दछु । स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक थप सहयोग सल्लाह र सुझावको अपेक्षा गर्दछु ।’ मन्त्री पौडेललाई स्वागत गर्न मन्त्रालयमा स्वास्थ्य सचिव, मन्त्रालयका कर्मचारी, अस्पताल निर्देशकको भीड लागेको थियो ।

भन्ने स्वास्थ्य, हुने खानेपानी
नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री यादवलाई कर्मचारीहरूले स्वागत गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) का नेता यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । यसका लागि अशोक राईले ७ सांसदसहित जसपा नेपाल विभाजन गर्नु परेको थियो । वैशाख २३ गते जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका मात्र थिएनन्, ओली सरकारमा पनि आफैँ स्वास्थ्यमन्त्री हुने बताउँदै आएका थिए । तर ओली सरकारमा उनको भाग खानेपानी मन्त्रालयमा परेको छ । उनले पर्सामा पनि आफैँ स्वास्थ्यमन्त्री हुने बताउने गरेका थिए । यसअघि उनले स्वास्थ्यमन्त्री हुँदा नारायणी अस्पताललाई एक अर्ब रुपैयाँ बजेट आउने भनेर आस्वासन दिन भ्याएका थिए । पछि रकम नपरेपछि यसपटक उनी स्वास्थ्यमन्त्री दोहोरिने कुरा उनले गर्न भ्याए पनि जनताले पत्याइसकेका थिएनन् । नभन्दै उनी स्वास्थ्यजस्तो महत्वपूर्ण मन्त्रालयबाट खानेपानीतिर पुगेका छन् । उनी तेस्रोपटक मन्त्री भएका अनुभवी युवा नेता हुन् ।

प्रदेशमा रोकेर संघमा प्रवक्ता
लमजुङबाट प्रतिनिधि सभा सांसद बनेका नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका छन् । गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री बनिसकेका गुरुङले २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरेका थिए । तर उनी त्यतिखेर पनि प्रदेशमै उठ्न चाहन्थे । तर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई गण्डकीमा खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउनु थियो । त्यसैले गुरुङलाई संघमा उठाए । विसं २०३४ सालदेखि राजनीतिमा सक्रिय गुरुङ पार्टीभित्र खरो र प्रष्ट बोल्ने नेताका रूपमा चिनिन्छन् । यिनै गुरुङ त्यतिखेर प्रदेशमा मुख्यमन्त्रीमा दोहारिन रोकिए पनि अहिले ओली सरकारकै प्रवक्तासमेत हुने गरी सञ्चार मन्त्री बनेका छन् । विज्ञान विषयमा स्नातक गुरुङ शुरुमा शिक्षण पेसामा थिए । २०२७ सालमा ईशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार (अनेरास्ववियूको तर्फबाट) स्वतन्त्र विद्यार्थी युनियन सचिव बनेका थिए । प्रदेशका अधिकारका विषयमा लड्ने बलियो नेताका रूपमा उनलाई अहिले पनि पार्टीभित्र चिनिन्छ ।

घरेलु मैदानबाट विश्वासपात्र
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेता देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । दाहाल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेताको जिम्मेवारीमा छन् । राष्ट्रिय सभाका तत्कालीन संसदीय दलका नेता खिमलाल भट्टराईले राजीनामा गरेपछि दलको विधान, २०७७ बमोजिम ओलीलाई दाहाललाई मनोनित गरेका थिए । नेकपा एमाले झापाका अध्यक्ष हुँदै उनी केन्द्रीय सदस्य बनेका थिए । झापाको दमक निवासी दाहाल २०५६ मा नेपाली कांग्रेसका डा. गोपाल कोइरालासँग पराजित भएपछि काठमाडौँ केन्द्रित भए । उनले ओलीको सचिवालयमा पनि काम गरिसकेका छन् । यसअघि एमालेकै सांसद रघुवीर महासेठले नेतृत्व गरेको मन्त्रालय दाहालले पाएका छन् । दाहालले २०४१ सालमा तत्कालीन मालेको पार्टी सदस्य सदस्यता लिएका थिए ।

२० औँ पटक मन्त्री
विसं. २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए । यस्तोमा एमाले र कांग्रेसको गठबन्धनलाई पनि महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिएको थियो । त्यही साथको गुण तिर्दै नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले एक मन्त्री पद लोसपालाई दिएका हुन् । लोसपालाई ओलीले गुण तिर्दा अध्यक्ष महन्थ ठाकुरले शरदसिंहलाई नै फेरि मन्त्री बनाए । उनी फेरि श्रममन्त्री बने । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता भण्डारी विगत ३७ वर्षयता फरक–फरक व्यवस्था र दलको नेतृत्वमा गठन भएका मन्त्रिपरिषद्हरुमा मन्त्री बन्दै आएका छन् । भण्डारी २०४३ मा पहिलो पटक सहायकमन्त्री हुँदा पञ्चायती व्यवस्था थियो । पुख्र्याैली थलो पोखराका भण्डारी २०३८ र २०४३ मा महोत्तरीबाट राष्ट्रिय पञ्चायत सदस्य भए ।

पदभारमै कर्मचारीको अवरोध
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसका रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका छन् । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, कर्मचारीको आन्दोलनका कारण उनी पदभार ग्रहण कार्यक्रम प्रभावित बनेको छ । धादिङ–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका अधिकारीलाई पद बहालीका लागि मन्त्रालय पुग्दा प्रवेशद्वारमै अवरोध भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा एक सयको हाराहारीमा कर्मचारीले वृत्ति विकासको माग गर्दै १६ दिनदेखि धर्ना दिँदै आएका छन् । नवनियुक्त मन्त्री अधिकारी कार्यभार सम्हाल्नका लागि १६ दिनदेखि धर्नामा बसेका कर्मचारी अवरोध बनेका थिए । उनले पदभार ग्रहण गर्नु अघि नै आन्दोलनरत कर्मचारीको सामना गर्नु प¥यो । यद्यपि, उनले आन्दोलित कर्मचारीलाई भेटेर समस्या समाधानको आश्वासन दिएका छन् ।

देउवाका ६ मन्त्री
नेपाली कांग्रेसमा मन्त्रीको भागवण्डा गजबले भएको छ । सभापति शेरबहादुर देउवा संस्थापन पक्षले ६ जना मन्त्री आफ्नो राखेको छ । कांग्रेसको भागमा परेका ९ मध्ये ६ जना मन्त्री आफ्नो पक्षबाट देउवाले पठाएका हुन् । प्रकाशमान सिंह, रमेश लेखक, आरजु देउवा, ऐनबहादुर शाही, अजय चौरसिया र दीपक खड्का सभापति पक्षधर मन्त्री हुन् ।

ओली सरकारमा एक चौथाइ मधेशका मन्त्री

मन्त्रिपरिषद्मा दुई महिला, दलित प्रतिनिधित्व शून्य

भण्डारी २० पटक मन्त्री हुँदा लोसपा फुट्दै

किन गएनन् जसपा नेपाल र जनमत सरकारमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button