‘संसार पैसा हुनेहरुका लागि मात्र हो ?’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
बारा, प्रसौनी गाउँपालिका–३ गण्डक नौतनका सुकेश साह कानु उपचार अभावमा घरमै थलिएका छन् । दिनेश डिजेमा प्रस्तोताका रुपमा कार्यरत उनी वैशाख २४ गते गाउँकै राजकुमार साह तेलीले घरमा छटियार(न्वारन)का लागि बोलाएको डिजे पार्टीमा गएका थिए । प्रहरीले राति १० बजेपछि डिजे बजाउन रोक लगाएको छ । तर राति १० बजेपछि पनि डिजे नबजाएको भन्दै राजकुमारलगायत उनका आफन्तले सुकेशलाई मरणासन्न गरी कुटपिट गरेको पीडितकी आमा उषा कनुइनको आरोप छ ।

‘वैशाख २४ गते राति १० बजेसम्म सुकेशले डिजे बजाए, सबैले रमाइलो गरे, तर एकछिनपछि राजकुमारका आफन्तले फेरि डिजे बजाउन दबाब दिए, नमानेपछि मदिरा खुवाएर फकाउन खोजे,’ दिनेश डिजेका सञ्चालक दिनेश पटेल भन्छन्, ‘राति १२ बजे मदिरा खाएपछि फेरि डिजे बजाउन दबाब दिए, नमानेपछि मरणासन्न गरी कुटपिट गरे ।’ राति करिब १ बजेको घटनाबारे दिनेशले बिहान ६ बजे मात्र थाहा पाए ।

डिजे प्रस्तोता सुकेशका सहयोगीका रुपमा साजन पटेल पनि उनीसँगै थिए । उनी घटनाका प्रत्यक्षदर्शीसमेत हुन् । ‘राति करिब १ बजे मदिरा पिएर डिजे बजाउन दिएको दबाब नमानेपछि राजकुमार साह तेली, उनका छोरा सुरज र ज्वाइँ राजेश्वरले सुकेश र मलाई पिटन खोजे, हानाहानको अवस्था आएपछि म त्यहाँबाट फरार भएँ, उनीहरुले सुकेशलाई मर्ने गरी पिटिरहेका थिए’, घटनाका प्रत्यक्षदर्शी साजनले भने, ‘सुकेशलाई मरणासन्न हुनेगरी पिटेर छतबाट तल खोलामा फाले ।’

विगत दुई महिनामा गम्भीर घाइते सुकेशको उपचार विभिन्न अस्पतालमा भयो । तर, आर्थिक अवस्था कमजोर भएकाले कतै पनि राम्ररी उपचार गर्न नसकेको पीडितकी आमा उषाले बताइन् । डिजे सञ्चालक दिनेशले पनि शुरुमा केही पैसा खर्च गरे र सँगसँगै विभिन्न अस्पतालमा गए तर अहिले तिनले पनि खासै ध्यान नदिएको उषाको गुनासो छ । घरमा सुकेश, आमा र एक जना फरक क्षमताका दाइ मात्र छन् । दाई केही काम गर्न नसक्ने अवस्थामा छन् । आमा र दाइलाई कमाएर खुवाउने एक मात्र सन्तान सुकेश पनि उपचार अभावमा थला परेपछि परिवारको बिचल्ली भएको छ । कमाएर खुवाउने सुकेश पनि बिरामी परेपछि खानलगाउन समस्या भएको उषाको दुःखेसो छ ।

घाइते सुकेशलाई सुरुमा वीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार गरिएको थियो । त्यहाँबाट रिफर गरेर काठमाडौँको ब्लु क्रस हस्पिटलमा उपचार गरियो । तर, त्यहाँबाट पनि रिफर गरेपछि परिवारले उनलाई काठमाडौँ ग्वार्कोस्थित बि एण्ड बि अस्पताल लगे । त्यहाँ आर्थिक अभावले उपचार सम्भव भएन । काठमाडौँमा धेरै हण्डर खाएर परिवारले उनलाई वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरे । तर त्यहाँपनि उपचार सम्भव नभएपछि उनलाई वीरगंजकै नेशनल मेडिकल क्लेजमा भर्ना गरिएको छ । केही हप्ताको उपचारपछि उनको अवस्थामा केही सुधार त आयो । तर, आर्थिक अभावले त्यहाँ पनि उपचार गराउन नसकेपछि अहिले सुकेशलाई घरमा ल्याएर राखिएको छ ।

शुरुमा छिमेकी र केही व्यक्तिको आर्थिक सहयोगमा उनको उपचार भइरहेको थियो । डिजे सञ्चालक दिनेशले पनि शुरुमा केही रकम खर्च गरे । तर, अहिले उनी पनि यो घटनाबाट आफूलाई किनारामा पारेका छन् । घटनाका आरोपित राजकुमारलगायतका परिवारले एक रुपैयाँ पनि खर्च नगरेको पीडित उषाको भनाई छ । ‘उनीहरु हाम्रो गाउँले नै हुन्, मेरो छोरालाई पिटपाट गरे, उपचार गराउन हामीसँग पैसा छैन, राजकुमारले उपचार गर्न एक रुपैयाँ पनि दिएका छैनन्, अनि जे गर्छस् गर भनेर हामीलाई भनिरहेका छन् ।’

उषाले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएकी छन् । अहिले उनको मुद्दा अदालतमा गएको छ । आरोपित राजकुमार साह तेली र उनको ज्वाइँ राजेश्वर साह तेलीलाई पक्राउ गरेको थियो । छोरा सुरज साह तेली फरार छन् । अदालतले राजकुमार र राजेश्वरलाई जमानतमा रिहा गरेको छ । गाउँलेले उपचार खर्च दिन राजकुमारलाई धेरै दबाब दिए । तर उनले मानेनन्, घटना अहिले अदालत पुगेको छ । ‘अदालतबाट जे निर्णय भए पनि त्यो त सबैलाई मान्य हुनेछ तर, अहिले छोराको उपचार गराउने पैसा छैन, हामीलाई कमाएर खुवाउने छोरा थला परेपछि हाम्रो बिजोग छ । यता गाउँसमाज र नेताहरुले ध्यान दिउँन्,’ उषाले भनिन्, ‘हामीलाई न्याय कसले दिन्छ, जोसँग पैसा छ, यो संसारमा उसैलाई मात्र बाँच्ने अधिकार छ कि, हामी कहाँ जाने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button