प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

[mashshare]

मधेशदृष्टि
सिरहा ।
जिल्लाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूसँग जनही १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए । आर्थिक वर्ष २०७७÷७८ मा नवराजपर गाउँपालिका–२ मझौरा हुँदै बरगाछीदेखि पटनासम्मको बाटो ग्राभेल गर्दा भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरिएको घिमिरेले बताए ।

बाटो ग्राभेल गर्दा सम्झौता र नापी किताबमा उल्लेख भए बमोजिम फिल्डमा काम नगरी लागत अनुमानभन्दा फरक र कम परिमाणको काम गराएको आरोप उनीहरूमाथि थियो । उजुरीमाथि अनुसन्धान गर्दा ग्राभेल गर्दा वास्तविकभन्दा मूल्यांकन बढाएर झुटो भर्पाई गरी भुक्तानी गरेर प्रतिवेदन तयार गरेको पुष्टि भएको घिमिरेले बताए ।

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले नगरपालिका ९ को श्री आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमको भुक्तानी दिँदा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका खरिदार उपेन्द्र यादव र मजदुर होजीयारी उद्योगका प्रोप्राइटर रामसुन्दर साह तेली विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध पाँच लाख ३४ हजार ७ सय १० रुपैयाँ विगो दाबी गर्दै कैद र जरिवानाको सजाय गरी बिगो मागदाबीसहित मुद्दा दायर भएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button