
मधेशदृष्टि
वीरगंज ।
बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको खुलेको छ । नगरपालिकाको अधिकृत सातौँ तहका हरिओमप्रसाद जयसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुखको हस्ताक्षरसमेत किर्ते गरी मन्त्रालयमा पेस गरेको खुल्न आएको हो ।
जयसवालले किर्ते कागज बनाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेस गरेको आधारमा उनलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ भने जयसवालले सोमबार नगरपालिकामा हाजिर भएपछि किर्ते कागज बनाएर मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारी उनले अधिकृतको जिम्मेवारी लिएका हुन् । आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि उनले नगरपालिकाले मिति ०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नगरपालिकाले काज÷सरुवा सहमति दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी सरकारी पत्र किर्ते गरेको पाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रले पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओमप्रसाद जयसवाललाई दिएको नगर प्रमुख किशोरीप्रसाद साह कलवारले बताए । तर पछि जयसवालले सरकारी कागज किर्ते गरेको थाहा पाएपछि कानुनी कारबाहीका लागि विभिन्न निकायमा पत्रचार गरेको प्रमुख कलवार बताउँछन् ।
यसअघि ०७८÷७९ मा जयसवाल सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा उनलाई माछापोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । केही समयअघि मात्रै सो मुद्दामा उनलाई सफाइ दिइएको भए तापनि उनीविरुद्ध अहिले पनि अख्तियारले १० भन्दा बढी उजुरीमा अनुसन्धान गरिरहेको सिम्रौनगढ नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।
यता, प्रमुख प्रशासकीय अधिकृत जयसवालले आफूले कुनै पनि किसिमको किर्ते नगरेको दाबी गरेका छन् । नगर प्रमुखले नै आफूलाई दुवै पत्र बनाएर दिएको उनको भनाई छ । उनले भने, ‘मेयर सावले नै मलाई दुवै पत्र बनाएर दिनु भएको हो । तर, आज किन उहाँले यस्तो भन्नु भयो । मैले बुझन सकेको छैन । यसबारे छानबिनमा म सहयोग गर्न तयार छु ।’
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराले यस घटनाको अनुसन्धान शुरु गरेको छ । लामो समयबाट आन्तरिक विवादका कारण प्रमुख प्रशासकीयविहीन अवस्थामा रहेको यस पालिकामा यसअघि प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउँदा भएको विवादका कारण गोली चल्दा एकजनाको मृत्युसमेत भएको थियो ।






