फतुवा विजयपुरलाई चेक नकाटन आदेश

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगंजले अल्पकालीन आदेश जारी गरेको छ । आर्थिक वर्ष २०८०–८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

फतुवा विजयपुर–१ का विजय कुमार यादवसमेतले दिएको निवेदनपछि उच्च अदालतका न्यायाधीश भरतप्रसाद लम्सालको इजलाशले अल्पकालीन आदेश जारी गरेको हो । न्यायाधीश लम्सालको ३ नम्बर इजलासमा वरिष्ठ अधिवक्ता ईन्द्रदेव प्रसाद चौधरी र अधिवक्ता विशाल चौधरीले बहस गरेका थिए । फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले मिलोमतो गरी कार्यालयका सट्टा चन्द्रनिगापुरमा बसेर जथाभावी चेक काटिरहेको वडाअध्यक्षहरुले आरोप लगाए । प्रधान तेस्रोपटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका हुन् ।

फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियारद्वारा दोषी ठहर भई विशेष अदालतबाट दण्ड जरिवाना तोकिएपछि गतवर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारीमा छिन् । खातुन कार्यवाहक भएदेखि नै विभिन्न कारण सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ । कार्यबाहक मेयर खातुनले कांग्रेसकै नेताको इशारामा कांग्रेसकै वडा अध्यक्षहरुले षड्यन्त्र गरेर आफूलाई असफल बनाउन खोजेको बताउँदै आएकी छिन् । यसपटक भने वडा अध्यक्षहरुले कार्यबाहक मेयर खातुनले प्रमुख प्रशासकीय अधिकृतसँग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाएका छन् ।

२०७९ को स्थानीय निर्वाचनपछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा शिक्षक कर्मचारीले तलब पाउन सकेका छैनन् । जनप्रतिनिधिबीच बजेटकै भागबण्डा नमिलेर यस वर्ष पनि फतुवा विजयपुरले नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button