हतियार कारोबारी भारतीय पक्राउ

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले आइतबार राति हतियारको कारोबारी भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी, बैरगनिया–३ असोगी टोलका २१ वर्षीय राहुल राम छन् ।

उनका साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए । गौर नगरपालिका–२ महादेवपटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४–५ सीमा स्तम्भनजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटिएको ड्युटी टोलीले आइतबार राति भारतबाट नेपाल आउँदै गरेको नम्बर नखुलेको आरोपी रामले चलाएको हिरो एचएफ डिलक्स मोटरसाईकल जाँच गर्दा टुलबक्स भित्र लुकाइराखेको हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका रामसँगै मोटरसाइकलमा सवार अर्का एकजना भारतीय भने भारततर्फ भाग्न सफल भएको थिए । एसपी हुमागाईंका अनुसार मध्यरातमा बिनागोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्ने बताइएको छ । पक्राउ परेका भारतीय नागरिक राम हतियार कारोबारी रहेको प्रहरीको अनुमान छ । उनका साथबाट बरामद पेस्तोल, एकथान मोबाइल र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button