महानगरको सौन्दर्यकरण र स्वरोजगारमा जोड

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
वीरगंज महानगरपालिकाले सरसफाई, सौन्दर्यकरण सँगसँगै गरिवी निवारण र युवा स्वरोजगार कार्यक्रमलाई एक साथ अगाडी बढाउनु पर्ने कुरामा वक्ताहरुले जोड दिएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर ५ मा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले भौतिक विकाससँगै सामाजिक विकासलाई समेत सँगसँगै अगाडी बढाउनु पर्ने धारणा राखेका छन् ।

अन्तरक्रिया कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले ५ नम्वर वडालाई स्मार्ट वडा घोषणा गरिएको र वडाका सम्पूर्ण समस्यालाई एकीकृत रुपमा समाधान गर्दै वडा नेतृत्व अगाडी बढेको दाबी गरे । उनले वडाको सरसफाई, सडक, ढल नलको व्यवस्थापनसँगै महिला तथा युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै वडावासीको माग अनुरुप खानेपानी, स्वास्थ्य, शिक्षा, लगायतका आधारभूत आवश्यकता पुरा गर्ने कार्यमा आफूहरु जुटेको बताए ।

कार्यक्रममा वडा सदस्य मन्जु दाहालले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र सहज रुपमा उपलब्ध गराउन महानगरपालिका र सम्बन्धित सरोकारवाला निकायले ध्यान दिनु पर्ने कुरामा जोड दिदैै वृद्धवृद्धा, असक्त, अपाङ्गहरुलाई राज्यले थप सुविधा दिनु पर्ने कुरामा जोड दिए । त्यसैगरी वडा सदस्य मनोज कुमार साहले स्मार्ट वडाको लक्ष्य अनुरुप आफूहरुले वडालाई प्रविधिमैत्री बनाउँदै गएको बताए ।

कार्यक्रममा वडा सचिव अरुण कुमार बस्नेतले वडाबाट प्रदान गरिने सिफारिस, मृत्युदर्ता, जन्मदर्ता, नाताप्रमाणित लगायतका सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीच कुनै विवाद नरहेको स्पष्ट पारे । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय समाजसेवी एवम् शिक्षाविद् केशव भण्डारीले खानेपानीको व्यवस्थापन र विजुली तथा इन्टरनेट टेलिफोनको तार अण्डरग्राउण्ड गरी वडाको सौन्दर्यकरण गर्नु पर्ने कुरामा जोड दिए ।

सो अवसरमा सृजनशील आमा समूहकी सदस्य सरिता वर्णवालले महानगरले प्रदान गरेको सेवा सुविधा सन्तोषजनक रहेको टिप्पणी गरे । कार्यक्रममा स्थानिय युवा सुबोध कुमार वर्णवालले युवा स्वरोजगार कार्यक्रमका साथै खेलकुदको क्षेत्रमा महानगरपालिकाले लगानी थप गर्नु पर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button