जनमत नेतृत्वको सरकारले ल्यायो नीति तथा कार्यक्रम

[mashshare]

१३६ पालिकामा नमूना कृषि विकास समूह निर्माण
प्रत्येक जिल्लामा नमूना खुला शैक्षिक पार्क
धनुषाको हंसपुरमा जडिबुटी उत्पादन र प्रशोधन
वैदेशिक लगानी भित्र्याउन मधेश प्रदेश लगानी सम्मेलन

मुख्यमन्त्रीका नाममा कार्यक्रमहरु
१. मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा
२. मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम
३. मुख्यमन्त्री सुशासन अनुसन्धान फेलोसिप
४. मुख्यमन्त्री प्राकृतिक विपद बीमा कार्यक्रम

केही नयाँ कार्यक्रमहरुः
१. घुमौँ मधेशः बुझौँ मधेश
२. पर्यटन वर्ष
३. अटोमेटिक ट्रायल सेन्टर स्थापना
४. एक क्षेत्रः एक पक्की पुल
५. निर्वाचन क्षेत्र रोजगार प्रवद्र्धधन केन्द्र
६. पालिकामा कृषि विद्युतीकरण
७. पूर्ण साक्षर मधेश प्रदेश–साक्षरता अभियान
८. हरेक जिल्लामा पूर्ण सुसज्जित मेडिकल उपकरणसहितको मोबाइल एम्बुलेन्स
९. हरेक पालिकाको सांस्कृतिक झल्को देखिने माटो पार्क
१०. ⁠हरेक पालिकामा एक एग्रोभेट,
११. ⁠मधेश स्वयम्सेवक कोर
१२. ⁠चुरे संरक्षण तथा पानी रिचार्ज
१३. ⁠मधेश प्रिमियर लिग
१४. मधेश इतिहास पार्क
१५. मधेश वैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम
१६. ⁠स्किल टेस्ट सेण्टर
१७. ⁠प्रादेशिक कृषि औजार केन्द्र
१८. ⁠मधेश स्टार्ट अप र इन्नोभेसन सेन्टर
१९. टिच फर मधेश
२०. ⁠हरेक ४ बिघामा १ बोरिङ कार्यक्रम
२१. मधेश आईटी पार्क निर्माण
२२. ⁠प्रशासनिक सुधार र सुशासन
२३. ⁠लागूपदार्थविरुद्ध सचेतना कार्यक्रम

मधेशदृष्टि
जनकपुरधाम ।
केही दिनअघि मात्रै प्रदेश सरकार परिवर्तन भएको मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । लगातार ६ वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेको जनता समाजवादी पार्टी (जसपा) नेपालले नै यसवर्ष पनि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो । तर जनमत पार्टी नेतृत्वको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अवसर पाउँदा जसपा नेपाल भने सहभागीसमेत हुन पाएन ।

जसपाका लागि मंगलबारसम्म कानूनी हदम्याद पनि थियो । तर बाठो पल्टिएर समयअगावै प्रदेश सभा आह्वान गर्दैै विश्वासको मत लिएर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सपना बोकेको जसपा नेपाल सरकार ६ वर्षपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउने हैसियत गुमाउनेमा मात्रै पुगेन, आफूहरु पार्टी महाधिवेशनमा सरिक भएकाले दुई दिन पछि नीति तथा कार्यक्रम सार्न आग्रह गर्दा नपत्याउने अवस्थामा पुगे र मंगलबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा लगातार ६ वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्ने पार्टी नै सहभागी हुन पाएन । जसपा संसदीय दलका नेता सरोज यादवले पार्टी महाधिवेशनमा व्यस्त भएकाले नीति तथा कार्यक्रम सार्न आग्रह गरिएको र अस्वीकार गरिएकाले बहिस्कार गरिएको जानकारी दिए ।

मंगलबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आर्थिक वर्ष २०८१–८२ का को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरणलगायतलाई प्राथमिकतामा दिइएको छ । मधेशका १ सय ३६ पालिकालाई लक्षित गरी नमूना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार, मधेस प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा १–१ वटा खुला शैक्षिक पार्क निर्माण, प्रदेशको तथ्याङ्क भरपर्दो र विश्वासिलो बनाउन डिजिटल तथ्याङ्क बँैक स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

वैदेशिक लगानी भित्र्याउन मधेश प्रदेश लगानी सम्मेलन गरिने नीति लिइएको छ । प्रदेशमा महिला हिंसा नियन्त्रण गर्न कानून निर्माणका साथै हिंसामा संलग्नमाथि कडा कानूनी कारबाहीका साथै पाठ्यक्रममा महिला हिंसाको विषय समावेश गर्दै महिला हिंसा नियन्त्रणका लागि अन्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने नीति लिइएको हो । नीति तथा कार्यक्रममा विवाहमा हुने गरेको अनावश्यक खर्चलाई नियन्त्रणका लागि सामूहिक विवाह कार्यक्रम सञ्चालन गरिने, जनकपुरधामलाई वैवाहिक हबको रुपमा स्थापना गरिने नीति लिइएको हो ।

एक निर्वाचन एक सडक तथा पुल निर्माण गर्ने भएको छ । पर्सादेखि सप्तरीका मधेशी सहिद सडक राजमार्गका निर्माणका लागि स्वदेश तथा विदेशी लगानीका लागि आह्वाहन गरिने उल्लेख छ । यसका साथै स्वास्थ्य सेवा गुणस्तरीय बनाउँदै नसर्ने रोगको उपचारलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताललाई ५ सय शैयामा स्तरोन्नति गर्नेलगायतका नीति लिइएको छ । प्रतिष्ठानमा हाल सञ्चालनमा रहेको शैक्षिक कार्यक्रममा एमबिबिएस, बिडिएस, बिफार्मेसीलगायतका स्नातक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारको कार्यलाई थप विस्तार र व्यवस्थापन गरिने नीति लिइएको छ ।

मधेसलाई आयुर्वेदमा आत्मनिर्भर बनाउन धनुषाको हंसपुरमा जडिबुटी उत्पादन र प्रशोधन केन्द्र बनाइने बताइएको छ । ‘जहाँ बाटोः त्यहाँ रुख, त्यसले ल्याउँछ परम सुख’ नारालाई सार्थक बनाउन स्थानीय तहको समन्वय र सहकार्यमा ग्रामीण तथा शहरी वन विकासको कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कार्यक्रममा बालश्रम न्यूनीकरण गर्ने नीति लिइएको छ । ‘बचपन बचाऊ, जीवन जोगाऊ’ नारासहित बालश्रम न्यूनीकरण् नीति लिइएको हो । नीति तथा कार्यक्रममा ‘घुमौँ मधेश–बुझौँ मधेश’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएर यस्तो कार्यक्रम ल्याइएको हो ।

मधेशमा पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्ड गठनदेखि जयनगरबाट रेल चढेर आउने पर्यटकलाई एकैठाउँमा बस्ने व्यवस्था हुनेगरी धर्मशाला निर्माणसम्मको योजनालाई प्राथमिकतामा राखिएको छ । यस्तै, राजमार्ग क्षेत्रमा क्यासिनो र ग्रामीण क्षेत्रमा होमस्टेको प्रबन्ध गरिने बताइएको छ ।

नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रलाई पनि महत्व दिइएको छ । लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता, समानुपातिक विज्ञापनको प्रबन्ध, सामुदायिक रेडियो सञ्जाल निर्माण गरी रेडियोकर्मीलाई दक्षता प्रदान गरिने उल्लेख छ । पत्रकारका लागि स्वास्थ्य वीमा र दुर्घटना वीमाको व्यवस्था गरिने बताइएको छ । नीति तथा कार्यक्रममा पुराना नीति तथा कार्यक्रमसमेत निरन्तर हुने उल्लेख छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमसमेत निरन्तरता हुने उल्लेख छ । दिउँसो २ बजे हुने भनिएको नीति तथा कार्यक्रम साँझ ६ बजे प्रस्तुत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button