पालिका अध्यक्ष हारेकालाई मुख्यमन्त्री

[mashshare]

अनिल पोखरेल
राजविराज ।
२०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजय भोगेका सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्री हुने भएका छन् । सिंह मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति पनि हुन् ।

स्थानीय निर्वाचन २०७४ मा राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भई सफलतापूर्वक कार्यकाल पूरा गरेका सिंह पछिल्लो २०७९ को स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनावमा उठ्दा नेपाली कांग्रेसका अरुण कुमार मण्डलसँग पराजित भएका थिए । मण्डलले ५ हजार ४ सय ७४ मत ल्याएर विजयी हुँदा सिंहले ३ हजार ६ सय ४६ प्राप्त गरे ।

त्यसपछि प्रदेश सभा सदस्य निर्वाचनको केही महिनाअघि डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीमा प्रवेश गरी प्रदेश सभा सदस्यमा सप्तरी क्षेत्र नम्बर २ क बाट सिंह १६ हजार ७ सय ३४ मतका साथ निर्वाचित हुन सफल भए । जनमतका अध्यक्ष डा. राउतले मधेशका मुख्यमन्त्री सांसद सिंहलाई बनाउने निर्णय लिएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ घर भएका सतिशका बुबा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् । सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय थिए । सतिशका परिवारको अहिले पनि गाउँमा दबदबा छ भने गाउँका सर्वसाधारणले उनको परिवारको सदस्यलाई ‘मालिक’ सम्बोधन गर्छन् ।

यता, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरी सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय पछि पार्टीमा असन्तुष्टि बढेको छ । दलका नेता यादव र मुख्यमन्त्री सिंह बन्ने भएपछि अप्ठ्यारो पर्नसक्ने अनुमान गरिएको छ । त्यसैले, यादवलाई हटाएर अध्यक्ष राउतले सिंहलाई नै दलको नेता बनाउन खोजेको पाइएको छ । एकलौटी ढंगले दलका नेता सिंहलाई बनाउने निर्णय गरिए पार्टीमा अझ विवाद बढ्ने बुझिएको छ ।

मधेशमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button