
सञ्जय मिश्रा
रौतहट ।
गौरको ट्रायल सेन्टरबाट दुई जना पक्राउ परेका छन् । ट्रायल सेन्टरबाट दुई दलाललाई आईतबार प्रहरीले पक्राउ गरेको हो । ट्रायल सेन्टरमा दलालहरुले लाईसेन्स बनाई दिने भन्दै सेवाग्राहीसँंग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी डिएसपी एलिजा गिरीले बताइन् । पक्राउ पर्नेमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका वडा नम्बर १ बस्ने ४८ वर्षीय श्याम नारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।
पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारिरहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन् । पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौँसम्मका दर्जनौं दलाल घुमिरहेको पाइन्छ ।
दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमतिपत्र खरिद बिक्रि हुनेगरेको गुनासो बढ्दै गएको छ । स्कुटर, जीप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नविकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत हुनेगरेको सेवाग्राहीले गुनासो गरेका छन् । तर, कार्यालयका प्रमुख अरविन्द दासले भने आरोपको खण्डन गरेका छन् ।






