
मधेशदृष्टि
वीरगंज ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले वीरगंजलाई आर्थिक राजधानी घोषणाको मागसहित पर्सा जिल्ला भेला गर्ने भएको छ । आम जनता पार्टी जिल्ला कार्यसमिति पर्साले सोमबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै जिल्ला भेलाबारे जानकारी गराएको हो । पर्सा जिल्लाको विरासत रक्षा एवं विकास गर्दै उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, सुक्खा बन्दरगाह आदिलाई थप नयाँ उचाईमा पुर्याउन वीरगंजलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग आजपाले अघि सारेको छ ।
पत्रकार सम्मेलनमा आजपा पर्साका इन्जार्ज कदम रसुलले देशको समग्र अर्थतन्त्र तथा रोजगारीको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको विरगंजलाई देशको आर्थिक राजधानी घोषण गर्नुपर्ने बताए । साथै उनले वीरगंजवासी सधै करबाट मात्रै थिचिएको तर वीरगंजको विकास हुन नसकेकोले करमुक्त वीरगंज बनाउने पार्टीको मिशनसमेत रहेको बताए ।
पत्रकार सम्मेलनमा आजपाका केन्द्रीय सचिव बाबुराम कौशिकले वीरगंजको नारायणी अस्पताल, चिनी मिललगायतका क्षेत्रमा सुधारको खाँचो रहेको औल्याए । पर्साबाट निर्वाचित भएर सांसददेखि मन्त्रीसम्म बनेकाहरुले यहाँको विकासका लागि केही काम गर्न नसकेकोमा उनले प्रश्न उठाए । सो क्रममा सचिव कौशिकले आजपाले देशका ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने काम गर्दै आइरहेको बताए । साथै उनले पछिल्लो समय आजपाले ७ वटै प्रदेशमा लुटतन्त्रको भण्डाफोर अभियान चलाइरहको जानकारीसमेत दिए ।
कार्यक्रममा आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहले वीरगंजलाई आर्थिक राजधानी घोषणाको मागसहित जिल्ला भेलाको आयोजना गर्न लागेको जानकारी दिदै भेलामा सहभागीका लागि सबैलाई अपिल गरे । सरकारले वीरगंजलाई आर्थिक राजधानी घोषणा गरी सोही अनुरुप बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए । विकासको गतिमा पर्सा जिल्ला पछाडि परिरहेकोले पर्साको विकासलाई आजपाले आफ्नो एजेण्डा बनाएको उनको भनाइ थियो ।






