
मधेशदृष्टि
जनकपुरधाम ।
महोत्तरी र सप्तरीमा भएको आगलागी पीडितले महिना पुग्न लाग्दा पनि प्रदेश सरकारबाट कुनै राहत पाएका छैनन् । उसो त ३१ वैशाखमा सत्तारुढ गठबन्धनका सािझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले साथ छाडेपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आफैँ सत्ता टिकाउने राहतको खोजीमा भौँतारिएका छन् । आफ्ना पार्टीका प्रदेश सभा सदस्य फुटेको पार्टी जनता समाजवादी पार्टीमा जालान् कि भनेर राम्रोसँग निदाउन पनि सकेका छैनन् ।
यस्तो अवस्थामा उनले कहाँ के बोले र जनतालाई के भने भन्ने पनि बिर्सेर पाँचौँपटक विश्वासको मत पाउन सकिन्छ कि भनेर राजनीतिक ढोगभेटमा समय फालिरहेका छन् । जबकि उनको सत्ता अब मधेशमा टिक्ने अवस्था देखिएको छैन । उनका कार्यकालमा भएका अनियमितता र बदमासी सिलसिलेवार ढंगले सञ्चारले ल्याउने भय मुख्यमन्त्रीमा देखिन थालेको छ । उनकै कारण मधेशमा जसपा नेपाल चरम बदनाम र कलंकित भएको भनेर पार्टी नेतृत्वमा पटकपटक रिपोर्टिङ भएकै छ ।
सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा वैशाख १८ गते आगलागी भएको थियो । दिउँसो स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट सल्किएको आगो समयमा नियन्त्रण हुन नसक्दा चिम्टी बस्तीका एक सय १४ घर जलेका थिए । काठमाडौँमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव काठमाडौाँट सिधै त्यहाँ पुगेर अग्निपीडितलाई घर बनाइदिने बताएका थिए । तर एक महिना पुग्न केही दिन मात्र बाँकी रहँदा मुख्यमन्त्रीले बोलेअनुसार चिम्टीका अग्निपीडितले कुनै राहत पाउन सकेनन् । उनीहरुलाई घर बनाइदिने कार्यको शुरुसम्म हुन सकेको छैन । मुख्यमन्त्री आउँदा अग्निपीडित बस्तीमा गम्छा र खादा ओढेर कुनै उत्सवमा पुगेजसरी फोटो सेसन त भयो, मुख्यमन्त्री फर्केपछि बस्तीमा राहतको सिन्को पुगेको छैन । अहिले चरम तापक्रम वृद्धिमा उनीहरु आहत भएर बसेका छन् ।
उसो त यसअघि आगलागी भएको कञ्चनरुप–५ पडेमारामा पनि अग्निपीडित १६ घरपरिवारका लागि एकीकृत बस्ती बनाउन मुख्यमन्त्रीकै पार्टीले आह्वान गरेको थियो । त्यहाँसमेत कुनै काम भएको छैन । पार्टीकै मागअनुसार पनि मुख्यमन्त्रीले काम गर्न सकेका छैनन् । आफ्ना पार्टी अध्यक्षको गृहजिल्लामा समेत मुख्यमन्त्री यादवले न आफूले बोलेको पूरा गरेका छन्, न पार्टी तहको मागमा गम्भीरता देखाएका छन् । फेरि पनि उनकै सत्ता जोगाइदिन मधेशमा जनता समाजवादी पार्टी नेपाल फुटको सिकारदेखि चरम बदनाम भइरहेको छ । मुख्यमन्त्री यादवलाई अग्निपीडितलाई राहत दिन कुनै कठिनाइ छैन, अर्थमन्त्री देशमै सबैभन्दा बढी बदनाम भएका मधेश प्रदेशकै छन् । अर्थमन्त्री सञ्जय यादव मुख्यमन्त्री यादवकै पार्टीकै छन् । तैपनि मुख्यमन्त्री जनतालाई राहत दिने विषयमा गम्भीर नहुँदा पार्टीले मुख देखाउन नसक्ने अवस्था बनिरहेको छ ।
यस्तै, वैशाख १२ गते महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीमा आगलागी हुँदा एक सय ५० परिवार अग्निपीडित बने । त्यहाँ पनि घटनाको ७२ घण्टापछि पुगेका मुख्यमन्त्रीले पहिले नै बाराको सिमरामा भएको कार्यक्रममा उनीहरुलाई घर बनाइदिने भनेका थिए । तर त्यहाँ पुग्दा उनको बोली फेरियो । सरकारले सकेको मदत गर्ने भनेर फर्किए । त्यसपछि मधेश सरकारबाट निर्णय गराउने भनेर पन्छिए । अहिलेसम्म उनीहरुले पनि प्रदेश सरकारका मन्त्रीहरुको अनुहार देख्न पाए, अरु कुनै राहत अनुभूत गर्न पाएनन् । प्रत्येक परिवारलाई १० हजार रुपैयाँ दिने भनिए पनि सरकारका साझेदार फेरिएपछि यो कामले मूर्तता नपाउँदा मुख्यमन्त्रीप्रति मधेशका अग्निपीडित चरम निरास बनेका छन् ।






