
मधेशदृष्टि
जनकपुरधाम ।
नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेश प्रमुखसमक्ष एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादवले समर्थन फिर्ता लिएको पत्र बुझाएका छन । यादव मधेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । यादवसँगै ६ जना मन्त्रीले सरकारबाट फिर्ता भएका छन् । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य मन्त्री सत्रुधन सिंह, स्वास्थ्य राज्य मन्त्री केशव राय र गृह, सञ्चार तथा कानुन मन्त्री शारदा थापाले सरकारबाट राजीनामा दिएका हुन् ।
यसअघि आज (आइतबार) नै सत्तारुढ माओवादी केन्द्रका दुई मन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका थिए । जसपाका सरोज यादव नेतृत्वको सरकार धरापमा पर्ने भएको छ । आइतबार सत्तारुढ नेकपा एमालेका ६ र माओवादी केन्द्रका दुई मन्त्रीहरुले सरकारबाट सामुहिक राजिनामा दिएसँगै यादव नेतृत्वको सरकार संकटमा परेको हो ।
माओवादीबाट यादव नेतृत्वको वर्तमान सरकारमा रहेका बिना विभागिय मन्त्री भरत साह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले सरकारबाट राजिनामा दिएको पत्र मुख्यमन्त्री यादवलाई बुझाएका छन् । साह माओवादी केन्द्रका संसदिय दलका मधेशका नेता पनि हुन् ।






