आरोपैआरोप र ओरालो यात्रामा के के हुन् उपेन्द्र यादवका कमजोरी ?

[mashshare]

यादव समुदाय मधेशमा सबैभन्दा प्रभावशाली समुदाय भए पनि १५ प्रतिशत जनसंख्यामा सीमित छ । मधेश आन्दोलन, मधेश मसिहा र संघीयताको जननी दाबी गर्ने उपेन्द्र यादवले भने ठूलो जनसंख्या भएको २१ प्रतिशत दलित समुदायसहित ८५ प्रतिशत गैरयादव जातीय समुदायलाई पनि शासन गर्न खोज्दा उनको पार्टी जसपा नेपाल ओरालो लागेको छ ।

मधेशदृष्टि
जनकपुरधाम ।
अपहरण काण्डमा जेल परेपछि भैरहवाका मधेशवादी नेता श्यामसुन्दर गुप्ताको राजनीतिक जीवन सकियो । उनी उपेन्द्र यादवबारे सुनाउँथे, ‘पाँच सय रुपैयाँका लागि राजविराजबाट सर्लाही, रौतहटसम्म बस चढेर आउँथे ती मास्टर उपेन्द्र यादव, मास्टर न हुन्, दिनभर कराउँथे, आज उनको राजनीतिक र आर्थिक हैसियत कहाँ पुग्यो, हामी डुब्यौँ ।’

श्यामसुन्दर गुप्ताले भनेजस्तै कुनै बेला मधेशमा छिन्द्रिङ–छिन्द्रिङ घण्टी बजाउँदै साइकलमा देखिने गणित र विज्ञानका शिक्षक यादव शिक्षण पेशाबाटै सामाजिक अभियन्ता हुँदै २०६३ को मधेश विद्रोहबाट नेपाली राजनीतिमा देशकै लागि नेतृत्व गर्न सक्ने अनुहार बने । तर उनको राजनीतिक यात्रामा भने राजनीतिक गणित कहिल्यै स्थिर रहेन । अहिलेसम्मको यात्रामा उनको अस्थिर अंकगणितले उपेन्द्र यादवलाई सफलतातिर लगे पनि यसपटक भने उनको राजनीतिक गणितीय अभ्यास निकै कमजोर बनाउने काम भएको छ । यो राजनीतिक यात्रामा उनले अनेकपटक पार्टी जोड्दै, कार्यकर्ता जोगाउँदै, नेताहरुलाई बिदा गर्दैै यसपटक राष्ट्रिय राजनीतिक गठबन्धनमा उपराष्ट्रपति मधेशका लागि सुरक्षित पनि पारे । उपनिर्वाचन गराएर आफू विजित बने । मधेशमा जनता समाजवादी पार्टी नेपालको प्रदेश सरकार सुरक्षित पारे ।

राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने गणितीय शक्तिसहितको मधेशी जादू उपेन्द्र यादव इतिहासकै कठिन मोडमा पुर्याइएका छन् । सत्ता गठबन्धन साझेदार दलबाट उपप्रधानमन्त्रीमा बहाल यादव केही दिनमै सरकारबाट पनि मिल्काइने तयारी भइरहेको छ । १२ सांसद रहेको उनको पार्टी उनी अमेरिका भ्रमणमा रहँदा फुटाइएको छ र ७ सांसद अर्को पार्टीमा गएपछि उपेन्द्र यादव एकाएक राजनीतिक विकल्पमा नभए पनि हुने पात्र भनेर प्रमाणिकरणमा सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी नै प्रयासरत छन् । अशोक राई नेतृत्वमा सात सांसदले सनाखत गरेर जसपा गठन गर्दै सोमबार निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ ।

विछाडैविछोडको शृंखला
राष्ट्रिय पार्टी तर पाँच सांसदका नेता उपेन्द्र यादवको नेताहरुसँग विछोड शृंखला यो पहिलो होइन । यसैले उनले शुक्रबारसम्म पार्टी विभाजनको असर पार्टी, संघीय सरकार र प्रदेश सरकारमा नपर्ने भनिरहेका छन् । अनेकौँ नेताहरुले उपेन्द्र यादव छाडेका छन् । बाबुराम भट्टराई नेतृत्वको समूह यादवलाई छाडेर अर्को पार्टी बनाउन लाग्यो । यसअघि नै महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेता अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो । पछि महतो लोसपाबाट अलग्गिएर राष्ट्रिय मुक्ति क्रान्ति मोर्चा चलाइरहेका छन् ।

यादवले नेतृत्व गरेको दलमा विभाजनको शृंखला यतिमै सीमित छैन । उनले नेतृत्व गरेको तत्कालीन मधेशी जनअधिकार फोरम पहिलो संविधानसभाकै कार्यकालमा चार टुक्रामा विभाजित भएको थियो । भलै त्यसले ठूलो जनमत आकर्षित गर्न सकेन । तर, २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्थापित गर्न फोरमबाट विजय गच्छदारले विद्रोह गरेर पार्टी विभाजित गरेपछि भने संसदीय शक्तिको हिसाबले यादवको राजनीतिक यात्रा ओरालो लाग्न थालेको हो ।

२०६४ को संविधानसभामा यादव नेतृत्वको संघीय समाजवादी फोरम ३० प्रत्यक्ष, २२ समानुपातिक र २ मनोनीत गरी ५४ सिटसहित संसदमा चौथो राजनीतिक दल थियो । विजयकुमार गच्छदारले ४० प्रतिशत सांसद लिएर आफ्नो नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे । अमर यादव नेतृत्वको तराई मधेश फोरम, भाग्यनाथ गुप्ताको मधेशी जनअधिकार फोरम (मधेश) र जयप्रसाद गुप्ताको मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) पार्टी यादवकै कम्पनीको सहउत्पादन हुन् ।

जोडजाडमा उपेन्द्र
उपेन्द्र यादवले विभाजनको स्वाद मात्र चाखेका छैनन् । एकताको स्वाद पनि लिएका छन् । अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी, बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति, महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारीलाई पनि पार्टीमा जोडेका हुन् । तर जजसलाई जोडे पनि अन्ततः उनीहरु अवसरवादी यादव र यादवको पार्टी भन्दै बाहिरिने क्रम रोकिएन ।

पहिल्यै फुटाउन खोजिएको थियो जसपा
केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन जसपा विभाजन गर्ने उद्देश्यले २०७७ वैशाख ९ गते राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–६ मा दलसम्बन्धी प्रावधान संशोधन गरेर अध्यादेश ल्याए । केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै दल खोल्न पाउने ऐनको प्रावधानलाई सहज बनाउँदै दुईमध्ये कुनै एकमा ४० प्रतिशत पु¥याए हुने व्यवस्था समावेश गरियो । त्यतिखेर पनि प्रदीप यादव, मोहम्मद इस्तियाक राई, रेणु यादवसहितका नेताकै सक्रियतामा छुट्टै दल दर्ता प्रयास भयो तर असफल बन्यो । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झासहितको सामूहिक नेतृत्वमा चलेको राष्ट्रिय जनता पार्टीसँग पार्टी एकीकरण गरेर यादवले विभाजन रोकेका थिए ।

सत्तालोलुप उपेन्द्र
२०६४ को संविधान सभामा संसदमा चौथो शक्ति बनेको उपेन्द्र यादवको पार्टी २०७४ को आमनिर्वाचनपछि सत्तालोलुप र अवसरवादी चरित्रमा रुपान्तरण भएपछि ७ वर्षअघिदेखि नै उपेन्द्र यादवका ओरालो यात्रा तय भइसकेको थियो । नभन्दै उनी २०७९ को निर्वाचनमा त आफ्नै भूगोल सप्तरी–२ मा मधेशको नयाँ पार्टी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पराजित भए । मतान्तर यस्तो देखियो कि यादव राउतले पाएको मत ३५ हजार ४२ मतको आधा भन्दा कम अर्थात् १६ हजार ९ सय ७८ मा सीमित भए ।

मधेशमा संघीयता ल्याएको र मधेशलाई अधिकारसम्पन्न बनाएको ‘टे«डमार्क’मा आफूलाई एकल कपिराइट दाबी गर्ने यादवको शर्मनाक हार राजनीतिक पतनको बाटो नै थियो । मधेश जनविद्रोहका नायकका रुपमा प्रशंसित यादवको राजनीतिक यात्रा ओराली लागेको हरिणकै चालमा देखियो । नेकपा एमालेसँगको तालमेलले जसपालाई प्रत्यक्षमा ७ सिट जितायो । समानुपातिकमा ३.९९ प्रतिशत मत दिलाएर राष्ट्रिय पार्टीको मान राख्यो । प्रतिनिधिसभामा कुनैबेला ५४ सिटको उपेन्द्र यादवको पार्टी १२ सिटमा समेटियो । मधेशका ६४ सिटमध्ये ७ सिटमा ओर्लियो । प्रदेश १ र लुम्बिनीमा थ्रेसहोल्ड कटाएको जसपा नेपालले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा लज्जास्पद ताजबाहेक केही पाएन ।

उपेन्द्रका कमजोरीहरु
क. सत्तालोलुप र अवसरवादी चरित्र
ख. अघोषित भारतीय नाकाबन्दीमा एमालेलाई ‘मधेशविरोधी’ बनाएर चुनावमा सहभागी । चुनावलगत्तै केपी शर्मा ओलीको सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री ।
ग. संविधान पुनर्लेखन माग गर्ने उपेन्द्र यादवको बोली परिवर्तन, असोज ३ संविधान दिवस मनाउन थाले ।
घ. ओलीको दुई–दुईपटकको असंवैधानिक संसद् विघटनलाई प्रतिगमन भन्ने तर निर्वाचनमा फेरि एमालेसँग तालमेल ।
ङ. मधेश सरकारको कमजोर र भ्रष्ट छवि, मुख्यमन्त्री र अर्थमन्त्री चरम बदनाम पात्र ।
च. जातिवादको आरोप ।
छ. बारम्बार पार्टी विभाजन ।
ज. छिमेकी देश भारतसँगको सम्बन्धमा दरार
उपेन्द्रको राजनीतिक यात्रा
क. २०५४ मा मधेशी जनअधिकार फोरम गठन ।
ख. २०६३ माघ २ गते अन्तरिम संविधान जलाएर देशैभर चर्चा ।
ग. संघीयता र समानुपातिक समावेशी प्रतिनिधित्वको मागसहित मधेश आन्दोलनको नेतृत्व ।
घ. २०६४ मा संविधानसभाको चुनावमा भाग लिनफोरम दलका रूपमा दर्ता ।
ङ. उपेन्द्र यादव मोरङ–५ र सुनसरी–५ बाट निर्वाचित ।
च. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा आठ सिटमा सीमित ।
छ. २०७४ को स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरम प्रदेश–२ मा कांग्रेसपछिको दोस्रो ठूलो दल ।
ज. २०७४ को प्रदेशसभा निर्वाचनमा प्रदेश–२ मा संघीय समाजवादी फोरम सबैभन्दा ठूलो दल । झ. २०७४ मा प्रदेशसभासँगै भएको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राजपासँग मधेश केन्द्रित गठबन्धन गरेर फोरम संघीय संसद्को पाँचौँ ठूलो दल ।
ञ. २०७९ को आमनिर्वाचनमा एमालेसँग तालमेलमा अध्यक्ष उपेन्द्र यादव नै पराजित । ७ सिटमा सीमित ।
ट. २०८० वैशाख १० गतेको उपनिर्वाचनमा गठबन्धन फेरेर बारा–२ बाट संसद प्रवेश र सरकारमा उपप्रधानमन्त्री

यादवमाथि १२ आरोप
१. यादव जातिको पार्टी बनाएको आरोप
२. फरक मत राख्नेलाई अवसरबाट वञ्चित
३. पार्टी आफूकेन्द्रित बनाउने
४. आयातीत र वफादारलाई प्रदेशमा मुख्यमन्त्री र अर्थमन्त्री
५. राष्ट्रिय पार्टी बनाउने चक्करमा मधेश भुल्नु
६. कुर्सीको किनबेच र केन्द्रीय कुर्सीमा एकल कब्जा
७. जनादेशविपरीत बारामा चुनाव लड्नु
८. नयाँ पुस्तालाई पार्टीमा लगातार निषेध
९. इमान्दार कार्यकर्ताको बहिर्गमनमा बेमतलबी
१०. पदको घमण्डले पुल्पुलिनु
११. पुरानै मुद्दामा जनतालाई भुलभुलैयामा पार्न खोज्नु
१२. ग्रासरुटका कार्यकर्ताको मनोभावनामा बेदखल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button