
मधेशदृष्टि
जनकपुरधाम ।
नेकपा एमाले जनकपुरधाम नगर कमिटीले प्रधानाध्यापकलाई काजमा खटाएको भन्दै आपत्ति जनाएको छ । जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई पालिकामा काजमा खटाएकोमा एमाले नगर कमिटीले आपत्ति जनाएको हो । शिक्षा नीति विपरित विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अहम भूमिका निर्वाह गर्दै आइरहेका प्रधानाध्यापक मोदनारायण राउतलाई पालिकामै काजमा खटाउनु गलत भएको भन्दै उक्त कार्यप्रति आपत्ति जनाएको हो ।
एमाले नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको अगुवाईमा बिहीबार नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा समितिले गरेको अन्यायपूर्ण निर्णयलाई सच्याउँदै प्रधानाध्यापक राउतलाई पुनः सोही विद्यालयमा यथास्थानमा राख्न माग गरेको छ । विद्यालयको शैक्षिक व्यवस्थापनलाई राम्रो बनाइरहेका प्रधानाध्यापकलाई पुरस्कृत गर्नुको साटो दण्ड स्वरुप नगरपालिकामा काजमा तान्नु शिक्षा नीति विपरित कार्य भएको एमाले नगर कमिटीको ठहर छ ।
उक्त निर्णय पूर्वाग्रही समेत भएकोले त्यसलाई सच्याउन आग्रह गरेको एमाले नगर कमिटीले निर्णय नसच्याइए आन्दोलनमा जान वाध्य हुने चेतावनी समेत दिएको छ । सो अवसरमा एमालेका नगर उपाध्यक्ष सन्तोष महतो, सचिव राजु साहसहितका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।






