
मधेशदृष्टि
काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत महत्वाकांक्षा बोकेका केही व्यक्तिका कारण पार्टी विभाजन भएको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी विभाजन गर्ने कुनै आधार नरहेको र विभाजनको कारण पनि देखाउन नसक्ने अवस्था रहेको बताए । उनले कसैलाई केही नपुगेको भए भनेको भए दिन्थेँ भन्दै छाडेर जानेहरुलाई कटाक्ष पनि गरे ।
यादवले कटाक्ष गरे, ‘पार्टी विभाजन गर्नेमध्ये एक जनालाई कार्यबाहक अध्यक्ष दिएर गएको थिएँ, एक जना मन्त्री हुनुहुन्छ, अरू सांसद हुनुहुन्छ, एक जना संसद्को सचेतक नै हुनुहुन्छ, नपुगेको के थियो र ।’ उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, ‘उहाँहरूले मागेको कुरा मैले दिन सकिनँ तर कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो, उहाँले दिँदा वा लिँदा हुन्थ्यो नि, कसले रोकेको थियो, पार्टीको कुनै पनि बैठकमा यस्ता कुराहरू उठेनन्, कसैले उठाउनु पनि भएन ।’
संसदीय दल, केन्द्रीय समिति, कार्यकारिणी समिति सबै ठाउँमा बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष यादवले निर्वाचन आयोगले अवैधानिक ढङ्गले पार्टी विभाजन गराएको आरोप लगाए ।






