मधेशसँग बेमतलबी ?

सम्पादकीय

[mashshare]

मधेशी जनअधिकार फोरम हुँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्माणमा जुटेका उपेन्द्र यादव अन्ततः पार्टी विभाजनको सिकार भएका छन् । यो बीचमा उनले अनेक पार्टीसँग एकता गर्दै नेताहरु एकठ्ठा गर्दैै अघि बढेका थिए । तर आफ्नै जिल्लाका नेताहरु र अझ उपेन्द्र यादवसँग सामीप्यता भएका भनिएका र यादव समूहकै सदस्यहरु पनि उनीलाई छाडेर हिँडे । पार्टी राष्ट्रिय बनाउनुका साथै सांसदहरु जोडजाड गरेर प्रदेश सरकारसँगै केन्द्रमा पनि उपराष्ट्रपतिसहित मन्त्री पाएको दल एकाएक टुक्रिएर कमजोर बन्नु पर्ने राजनीतिक प्रतिशोधको सिकार जसपा भयो । तत्काल देखिने गरी उपेन्द्र यादव यो प्रहारमा घाइते पारिए–बनाइए । यसपछि मधेशमा पकड बनिरहेको मधेश प्रदेश सरकारबाट पनि जसपा नेपाललाई बहिर्गमनको अभ्यास शुरु भएको छ । यो अभ्यासमा सबैभन्दा बडी बल उनकै पार्टीबाट विद्रोह गरेर गएकाहरुले गर्नेछन् । मधेश सरकार राम्रोसँग चलाउन नसक्नु मुख्यमन्त्री र उनको मन्त्रिपरिषद् अझ जसपा नेपालको असफलता हो । तर केन्द्रदेखि मधेशसम्म जसपा नेपाललाई बदनाम गराउने काममा यतिखेर भने पक्कै जताततै उपेन्द्र यादवमाथि प्रहार हुने पक्का छ ।

राजनीतिक हिसाबले मधेशी शक्ति बलियो बन्दै केन्द्रीय राजनीतिमा पनि हैसियत बनाउने अवस्थामा पुगेको थियो । यसमा जसपा अहिले पहिलो शक्ति बनेको थियो । जसपाभित्र अनेक गडबडी थिए । तर गडबडी यस्तोसम्म होला भन्ने थिएन । अध्यक्ष यादवले आफ्ना निकटकालाई मौका दिँदा उनीहरुले पार्टी र नेता कार्यकर्ताको हित चिताउने काम गरेका थिएनन् । यसको बलियो उदाहरण हेर्न अन्त जानै पर्दैन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादव काफी छन् । यी दुई पात्रका कारण मधेशमा अर्को पटक भोट माग्नै नसकिने अवस्था बन्यो भनेर अध्यक्ष उपेन्द्र यादवलाई रिपोर्टिङ र ब्रिफिङ भइसकेको थियो । पार्टी महाधिवेशन जनकपुरधामा गर्ने अवस्थामा पार्टी विभाजनको चोटले जसपा नेपाल आहत भएको छ । जबकि अध्यक्ष उपेन्द्र यादव चैँ अहिले पार्टीमा लागेको घाउचोट सबैको भर्पाइ पार्टी महाधिवेशनपछि गर्ने भन्ने मनस्थितिमा रहेको बुझिन्छ । मधेशमा योजना बेचबिचख र कमिसनको मोहमा उपेन्द्र यादवकै नाममा मुख्यमन्त्री र मन्त्रीले गरेको बदमासीबारे पनि बग्रेल्ती छलफल नभएको होइन । तर धैर्य गरेर सबैको माग पूरा गर्ने भन्दाभन्दै पार्टी विभाजन भइसकेको छ ।

झट्ट हेर्दा जसपा विभाजन देखिएको छ । तर मधेश आन्दोलनबाट उदाएको पार्टीमाथि सबैको प्रहार, पार्टीभित्रैबाट आक्रमण, उपेन्द्र यादवको तेजोबधमा सबैको सक्दो मेहनतले मधेशप्रति केही न केही बेमतलबी पनि देखिन्छ । उपेन्द्र यादव र उनले जिम्मा दिएका मुखियाहरु खराब थिए त महाधिवेशन नजिक थियो, त्यहीँ बसेर विद्रोह गर्न पनि सकिन्थ्यो । भला नेकपा एमालेमा भीम रावल नगन्यमा पुगेका छन् । तर उनले त्यही पार्टीमा गरेको मेहनतले आज उनी पार्टीमा भूमिकाविहीन भए पनि राष्ट्रवादी र राष्ट्रिय नेता भएका छन् । सत्ता नै ठूलो कुरा होइन, एक छाक दालभात, एक थान मन्त्री र एउटी श्रीमतीलाई ‘टिकाराम (समानुपातिक) सांसद’ बनाउन पार्टी नै विभाजनसम्मको हर्कत अहिले त ठीक होला, कालान्तरमा यो संक्रमणले फोर्नेहरु नै फेरि फोरिन्छन्, त्यसमा अहिले धेरै अड्कलबाजी नगरौँ । किनभने अहिले उपेन्द्र यादव खराब देखाएर पार्टी विभाजनको मक्सद यतिमा सीमित छैन, यसको अन्तर्य अरु नै छ । कालान्तरमा देखिँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button