विदेश पठाउने बहानामा तीन जिल्लाका युवासँग लाखौँ असुली

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
सरकारले वैदेशिक रोजगारीमा जान कैयौँ देशका लागि फ्रि भिसा फ्रि टिकट भनिरहँदा रौतहट घर भई काठमाडौँमा मेनपावर सञ्चालन गरेका सञ्चालकले लाखौँ रुपैया असुलेर पीडितलाई नै धम्काउने गरेको पाइएको छ । मौलापुर नगरपालिका–५ का पृथ्वीनारायण यादव र देवाही गोनाहीका अर्का एकजना इञ्जिनियरसँग मिलेर काठमाडौँ, सिनामंगलस्थित आरोहण ह्युमन रिसोर्स सञ्चालन गरी ठगी गरेको पाइएको हो ।

सञ्चालक यादवले वैदेशिक रोजगारीमा मलेसिया पठाउने भन्दै आफ्नै जिल्लादेखि बारा र सर्लाहीका दर्जनौँ युवासँग लाखौँ रुपैयाँ असुलेको पाइएको छ । पैसा लिएर एक दुई हप्तामा विदेश पठाउने भन्दै ६ महिना भन्दा बढी समयदेखि दर्जनौँ युवालाई उनले दौडाइरहेका छन् । लामो समय धाउँदा पनि उनीहरु विदेश जान पाएका छैनन् । एक जनाले तीनपटकसम्म मेडिकल गराए पनि जान पाएका छैनन् । पीडितहरु सिनामंगलस्थित आरोहण ह्युमन रिसोर्समा गएर बिरोध गर्दा यादवले बाउन्सर लगाएर पीडितलाई कुटपिट गराएर तर्साउने गरेका छन् ।

कटहरिया–५ का दीलिप यादवलाई मलेसिया पठाउने भनेर पृथ्वीनारायणले राहदानी लिएर मेडिकल गराउँदै भिसा आएपछि खबर गर्छु भनेर फिर्ता पठाए । तीन महिनापछि भिसा आइसक्यो पुनः मेडिकल गराउनुस् भनेर दीलिपलाई काठमाडौँ बोलाएर मेडिकल गराएर फिर्ता पठाए । त्यसको दुई महिनापछि यादव मौलापुर आएर दीलिपका आफन्त मौलापुरकै शंकर यादवको रोहवरमा अबको एक हप्तामा उडान हुन्छ भनेर एकमुष्ट ३ लाख २० हजार रुपैयाँ लिएर काठमाडौँ गए ।

त्यसपछि पटकपटक उडानका लागि भन्दै बोलाएर पृथ्वीले दीलिपलाई फिर्ता पठाएका छन् । दीलिपका आफन्त शंकरका अनुसार पैसा लिएर गएपछि पृथ्वीले फोनसमेत उठाउन छाडे । ‘पृथ्वी मेरो गाउँले हो, मसँग झुठो बोल्दैन भनेर ग्यारेन्टी गरेपछि दीलिपको बुबा किशोरीले साहुसँग ऋण गरेर पैसा दिएको ६ महिना भन्दा बढी बितिसक्यो, ६ महिनामा ३ लाख रुपैयाँको ब्याज चढिसक्यो तर दिलीप जानसकेका छैनन्,’ उनले भने ।

दुई महिनाअघि पृथ्वीले दीलिपलाई काठमाडौँ बोलाएर २० दिन राखेर फिर्ता पठाएका थिए । पृथ्वीले आश्वासन मात्र दिएर ठग्ने गरेको पीडित किशोरीले बताए । त्यस्तै, उनले विदेश पठाउने भनेर बाराका अरुण यादवसँग २ लाख, रौतहट, गढीमाइ नगरपालिका–६ का प्रमोद साहसँग ५० हजार, सोही ठाउँका रामविश्वास यादवसँग ३५ हजार, महेश यादवसँग ५० हजार रुपैयाँ दुई वर्षदेखि पैसा लिएको पाइएको छ । उनीहरु कोही पनि विदेश जान पाएका छैनन् । ‘अहिलेसम्म न विदेश पठाउन सकेका छन् न त पैसा नै फिर्ता गरेका छन्,’ शंकरले भने, ‘दीलिपसँगै यिनीहरु एउटा उदाहरण मात्र हुन्, मलेसियालगायत वैदेशिक रोजगारीमा पठाउने भनेर पृथ्वीनारायण यादवले रौतहट, बारा, सर्लाहीका दर्जनौँ युवासँग जनही लाखौँ रुपैया असुलेर दुई बर्ष भन्दा बढी समयदेखि अलपत्र पारेका छन् ।’

केही महिनाअघि बाराका केही पीडित सिनामंगलस्थित आरोहण ह्युमन रिसोर्स गएर कि त हामीलाई पठाऊ कि हाम्रो राहदानी र पैसा फिर्ता गर भनेर आवाज उठाउँदा पृथ्वीले उनीहरूमाथि बाउन्सर लगाएर कुटपिट गरी भगाएको एकजना पीडितले बताए । पृथ्वीनारायण यादवसँग यसबारेमा बुझ्दा केही प्राविधिक कारणले ढिलो भए पनि अप्रिल १० तारिकमा दीलिपको उडान हुने प्रतिक्रिया दिए । स्थानीय पत्रकार कृष्ण तिवारीले दीलिपको उडान फाइनल भएको हो भने उसको टिकटको फोटोह्वाट्स एपमा पठाउन भन्दा यादवले टिकट पठाउन भने सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button