
मधेशदृष्टि
महोत्तरी ।
मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी टोलमा बुधबार बिहान भएको आगलागीमा ठूलो क्षति भएको छ । स्थानयि फरमुद शेखको घरमा बुधबार बिहान १० बजेतिर सल्केको आगोले बस्तीका १ सय १५ घर जलेर नष्ट भएको छ । आगो ७ घण्टापछि नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुलेको छैन ।
आगलागीबाट कम्तीमा ५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । नगर प्रमुख हरि प्रसाद मण्डलका अनुसार, क्षतिको विवरण संकलन र पीडितलाई राहत वितरण सुरु भएको छ । तत्कालका लागि चिउरा, पानी, त्रिपाललगायतका राहत सामग्री उपलब्ध गराइएको छ । आगलागी पीडितहरु बस्ती नजिकै रहेको खुला चौरमा बसेका छन् ।
आगलागी भएको बस्तीमा सबैभन्दा बढी मुस्लिम बस्ती थियो । आगलागी नियन्त्रणमा लिन मटिहानी, जलेश्वर, रामगोपालपुरसहित जनकपुरधामलगायतका वारुणयन्त्र परिचालन भएको थियो । हावाहुरीका कारण फुसका छानो भएका बस्तीहरु बढी जलेर नष्ट भएको बताइएको छ ।






