
मधेशदृष्टि
वीरगंज ।
बसपार्क भन्नेबित्तिकै हाम्रो मानसपटलमा के पर्छ ? त्यही थोत्रो बसको गोदामजस्तो लाग्ने ठाउँ । शौचालय जानै मन नलाग्ने, फोहोर, दुर्गन्धको हरकले बिरामी होलाजस्तो ! भित्र गयो पानी छैन, पिशाबका लेउले चिप्लिएर लडिएला भन्ने डर । अनि उस्तै कर्कस आवाज गरेर ‘जाने हो’ भन्दै हातै तान्ने, झोलै खोस्ने यातायात मजदुरको व्यवहार । औसत नेपालका बसपार्क यस्तै छन् । यो भन्दा फरक पाउन गाह्रै छ ।

तर सहरी कोलाहलभन्दा पर, ग्रामीण बस्तीमा यस्तो बसपार्क पनि छ, जहाँ तपाईं बस चढ्न होइन, आराम गर्न पनि जाउँजाउँ लाग्ने माहौल छ ।
वीरगंगबाट कलैया हुँदै रौतहटको मौलापुरमा यस्तै भव्य, आकर्षक र बसपार्कको परिभाषा नै अलग बनाइदिने बसपार्क बनेको छ । पहिला यही गाउँ दुर्गम थियो, यातायातका साधन गाउँ पुग्न सक्थेन, पुग्नेहरु कहिले गौर हुँदै चन्द्रपुर घुमाएर समय लगाउँथे, कहिले गाडी भरिएन भन्दै कलैया र वीरगंज ल्याएर दिन बिताइदिन्थे । तर आज सडक, बसपार्कसँगै बस्ती विकासको योजनावद्ध प्लटिङ, फार्मिङले मौलापुर बदलिएको छ । छेउकै बाराको भूभाग र रौतहटको अर्को स्थानीय तह पुग्नेबित्तिकै फरक देखिन्छ । तर मौलापुर सफा, आकर्षक र मनमोहक छ । पहिलोपटक पुग्नेहरु भन्छन्, ‘यो बसपार्क हो र, पार्क जस्तो पो लागेर घुम्न आएको त !’

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् सहरी विकास मन्त्री हुँदा प्रभु साहले आफ्नो भूगोलका जनतालाई दिएको एउटा विकासे ‘गिफ्ट ह्याम्पर’ हो मौलापुर बसपार्क । २०७९ साउन ११ गते उनैले बसपार्क उद्घाटन गरे । स्मार्ट सहर निर्माण अभियानअन्तर्गत साहले बसपार्क बनाउन मिहिनेत गरे ।
यति मात्र होइन, रौतहटको सबैभन्दा ठूलो बसपार्क बन्यो मौलापुर बसपार्क ।
मधेश प्रदेशकै नमूना बसपार्क बन्यो मौलापुर बसपार्क । साढे चार बिघा क्षेत्रफलमा बसपार्क निर्माण भएको छ । आफैँ सहरी विकास मन्त्री हुँदा साहले शिलान्यास गरे, १३ करोड रुपैयाँ बसपार्कका लागि व्यवस्थापन गरे, बसपार्क बनेपछि उद्घाटन गरे । बसपार्कमा प्रशासनिक भवन, टिकट काउन्टर, यात्रु प्रतिक्षालय, सुविधासम्पन्न शौचालय तथा फराकिलो बस पार्किङ क्षेत्र छ ।
‘नेपालमै नभएको सुविधा छ मौलापुर बसपार्कमा,’ सम्पूर्ण बारा यातायातका अध्यक्ष अच्युत पौडेलले भने, ‘बसपार्कमा सवारी चालकका लागि बस्ने सुविधासम्पन्न तीन वटा कोठा निःशुल्क उपलब्ध छन्, बसपार्कले सहरकै मुहार फेरेको छ ।’
आफ्नो गाउँको विकासमा नमूना काम गरेका प्रभु साह २०७९ मंसिर ४ गते भएको संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भए । अहिले उनी आमजनता पार्टीका अध्यक्ष छन् । मौलापुर बसपार्क पुग्नु भयो भने तपाईं प्रभु साहको प्रशंसा सुन्नु मात्र हुन्न, फर्किएपछि भन्नुहुनेछ, ‘साँच्चै प्रभु साहले मौलापुरमा काम चैँ गजब गरेका रहेछन् है !’






